खबर पूर्वाञ्चल
अस्पतालहरुमा हाल मधुमेह, थाईराइड, हाडजोर्नी तथा नशा रोग, क्षयरोग, अङ्गभङ्ग र फोक्सो सम्बन्धी समस्या भएका तथा दीर्घरोगीहरुको चाप थेग्न नसक्ने गरि बढेको अस्पताल सञ्चालकहरुले बताएका छन् । निषेधाज्ञाका प्रावधान खुकुलो बनाईएसँगै मानवीय चहलपहलमा भएको बृद्धि र जोरबिजोर प्रणाली अनुसार सञ्चालन भएका सवारी साधनले अस्पतालमा नन–कोभिड बिरामीहरुको फ्लो बढेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । ‘खुकुलो प्रवाधान राखेर निषेधज्ञा बनाएपछि नन– कोभिडका विरामीहरू बढेर गएका छन्,’ मेसु दासले भने, ‘गत आइतबारेदखि बिरामीहरुको चाप एक्कासी अस्पतालमा बढ्न थालेको हो ।’
असार २० गते मात्रै कोशीमा ९ सय जना विरामी आएका छन् । त्यसयता आवश्यक उपचारका लागि दैनिक ८ सय बढी सेवाग्राहीहरु कोशी अस्पताल आईरहेको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागि मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा मोरङका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द थिए । सरकारले ओपिडी बन्द गरेकोले त्यस अबधिमा चिकित्सकको परामर्श लिन नपाएका विरामीको निषेधाज्ञा खुकुलो भएसँगै चाप देखिएको हो ।
अस्पतालमा वृद्धवृद्धा समुह, दीर्घरोगी र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका बिरामीहरुको चाप अत्याधिक रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । नोबेलमा दैनिक १ हजारदेखि १२ सयसम्म बिरामीहरु उपचारका लागि आउने गरेको उनले जानकारी दिए । अस्पतालको कोभिड विभागमा भने संक्रमितको संख्या घटेको छ । निषेधाज्ञा खुकुलो बनाएपछि मानवीय चहलपहल वृद्धिले संक्रमण बढ्नसक्ने जोखिम बढेर गएको चिकित्सकहरुे बताएका छन् ।
महामारी विरुद्ध आम नागरिक अझै पनि सचेत नभएकै कारण यसले ठुलो जोखिम निम्त्याउन सक्ने विज्ञहरुको भनाई छ । जेठ मसान्तयता जिल्लाको संक्रमण दर स्थिर भएपनि कतिखेर संक्रमण दर पुनः उकालो लाग्छ भन्ने बिषयको टुङ्गो नभएको विराट मेडिकल कलेजका वरिष्ठ सामुदायिक चिकित्सा बिशेषज्ञ डा. सुर्य पराजुली बताए ।
‘जेठ मसान्तयता मोरङको संक्रमण दर २० देखि २५ प्रतिशतको हाराहारीमा छ । प्रदेश १ को त अझै माथि छ,’ उनले भने, ‘आजको मितिसम्म संक्रमण दर त १० प्रतिशत मुनि झरिसक्नुपर्ने हो । तर, त्यसो भएको छैन । यसले जोखिम कायमै रहेको देखाउँछ ।’ स्वास्थ्य मापदण्डमा कडाईको अभाव, गाउँघरमा कोभिड परिक्षणको अभाव र कन्टयाक्ट टे«सिङको अभावका कारण कोरोना संक्रमण स्थिर रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दासको भनाई छ ।
निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्डमा भईरहेको लापरबाहीले कोभिडले तेश्रो लहर आउनेसक्ने आशङ्का विज्ञहरुकै छ । खोपको अभाव र स्वास्थ्य सुरक्षा मापदण्डको उल्लङ्घन नै कोभिड–१९ को तेश्रो लहरको मुख्य कारक बन्ने उनीहरुले बताएका छन् । कोभिड–१९ को विकसित ‘डेल्टा प्लस’ भेरिएन्टले मानव स्वास्थ्यमा पहिलो र दौश्रो भेरिएन्टभन्दा बढी प्रभाव पार्नसक्ने भएकाले आम नागरिक समयमै सचेत हुनु आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।