खबर पूर्वाञ्चल
छठ पर्वको दिन भएको उक्त बर्बरतापूर्ण घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै एक आरोपीलाई नियन्त्रणमा लिएको हो ।
यद्यपि, घटनाका मुख्य योजनाकार भनिएका व्यक्तिसहित अन्य तीन जना अझै फरार रहेका छन् ।
गत कार्तिक १० गते छठ पर्वको दिन जहदा गाउँपालिका वडा नं. १ राजवंशी चोकका ३८ वर्षीय मुकेशकुमार साह र उनकी ३४ वर्षीया श्रीमती सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले सांघातिक आक्रमण गरेको थियो । पीडित परिवारका अनुसार, छठ पूजाको अवसरमा सरवरीया परिवारले चर्को स्वरमा अश्लील गीत बजाएपछि साह परिवारले त्यसो नगर्न आग्रह गरेको थियो । यही विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा सरवरीया परिवारका बिन्देश्वर, उनकी श्रीमती ५० वर्षीया हिरामनी देवी, ३० वर्षीय छोरा सुनिल र २६ वर्षीया छोरी सुनिताले साह दम्पतीमाथि निर्घात कुटपिट गरेका थिए ।
सार्वजनिक भएको भिडियो फुटेजमा मुकेश साहलाई कपडा च्यातेर मरणासन्न हुने गरी कुटपिट गरिएको देखिन्छ । श्रीमानलाई बचाउन गएकी सिमादेवीलाई समेत लछारपछार गर्दै नालीमा फालेर आक्रमण गरिएको दृश्यले सामाजिक सञ्जालमा चर्को आक्रोश पैदा गरेको थियो । कुटपिटबाट सिमादेवीको हात भाँचिएको छ भने दुवै जना घाइते भएका छन् ।
घटनाको भिडियो भाइरल भएपछि चौतर्फी दबाबमा परेको प्रहरीले खोजी कार्यलाई तीव्र बनाउँदै शुक्रबार आक्रमणमा संलग्न सुनिल सरवरीयालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार पक्राउ परेका सुनिलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । “घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि खोजी कार्य जारी छ र उनीहरूलाई पनि चाँडै कानुनी दायरामा ल्याइनेछ,’ डीएसपी चुडालले बताइन् ।
प्रहरीकै अगाडि भएको थियो आक्रमण
पीडित सिमादेवी साहले आक्रमण हुँदा बुधनगर प्रहरी चौकीका प्रहरी घटनास्थलमै भए पनि उनीहरू मूकदर्शक बनेको गम्भीर आरोप लगाएकी छिन् । “हामीमाथि सरवरीया परिवारले आक्रमण गरिरहँदा प्रहरी त्यहीँ थियो, तर उनीहरूले छुट्याउने कुनै प्रयास गरेनन्,’ उनले भनिन् । प्रहरीको यस्तो भूमिकाप्रति स्थानीयले पनि प्रश्न उठाएका छन् । यसबारे मोरङ प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेको र दोषी पाइएमा कारबाही गरिने जनाएको छ ।
मुख्य आरोपीको आपराधिक पृष्ठभूमि
पीडित परिवारका अनुसार आक्रमणको नेतृत्व गर्ने मुख्य आरोपी बिन्देश्वर सरवरीयाले यसअघि पनि विभिन्न बहानामा आफूहरूलाई धम्की दिने गरेका थिए ।
सीमा क्षेत्रमा बसोबास गर्ने विन्देश्वर नेपाल–भारत दुवैतर्फ तस्करीमा संलग्न रहेको स्थानीयको आरोप छ । उनीमाथि नेपालबाट गाँजालगायतका सामग्री भारततर्फ र भारतबाट खाद्यान्नलगायतका सामान नेपालतर्फ तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ ।
पीडित परिवारले आक्रमणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै आफूहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न अपिल गरेका छन् । प्रहरीले फरार रहेका मुख्य आरोपी विन्देश्वर सहित अन्यको खोजीलाई तीव्रता दिएको बताएको छ ।