मोरङ–६ का मतदाता भन्छन्– यसपटक विगतजस्तो गल्ती गर्दैनौं

खबर पूर्वाञ्चल, २५ कार्तिक २०७९, शुक्रबार १२:३३
621
Shares
विराटनगर / मोरङ सुन्दरहरैंचाकी बुधमाया प्रधानले २०४६ सालको परिवर्तनपछि कतिपटक भोट लाएँ भन्ने ठ्याक्कै याद छैन । तर, सबै निर्वाचनमा उनले कम्युनिष्ट उम्मेदवारलाई भोट लगाइन् ।

२०६२÷६३ को परिवर्तनपछि २०६४ मा भएको निर्वाचनमा भने एकपटक प्रधानले माओवादीलाई भोट लगाइन् । त्यसबाहेक उनले हरेक निर्वाचनमा नेकपा एमालेलाई मतदान गरिन् । उनको पारिवारिक पृष्ठभूमि पनि कम्युनिष्ट नै हो । ६३ वर्षीया प्रधानको यसपटक भने मनस्थिति बदलिएको छ । उनले यसपटक फरक पार्टीका नेतालाई भोट हाल्ने निर्णयमा पुगेकी छिन् । “पार्टीभन्दा व्यक्ति हेर्नुपर्ने रहेछ, पार्टी हेरेकै कारण मुलुक अगाडि बढ्न नसकेको हो,” आमा समूहमा समेत आबद्ध प्रधान भन्छिन्, “यस पटकको निर्वाचनमा हामी गाउँका धेरैले डा। शेखर कोइरालालाई भोट हाल्ने मनस्थितिमा पुगेका छौं ।”

शेखर कोइरालासित पूर्वेली जनताको थुप्रै आशा र भरोसा भएका कारण जित्नै पर्ने प्रधानको भनाइ छ । उनी भन्छिन्, “यदि शेखर कोइरालाले पनि जितेर गएपछि जनताका लागि केही गर्नु भएन भने अर्को निर्वाचनमा हामी भोट हाल्दैनौं ।”

प्रधानजस्तै मनस्थितिमा पुगेका छन् बूढीगंगा गाउँपालिकाका ७२ वर्षीय रुद्रबहादुर कटवाल । खोटाङबाट बसाइँ सरेर १५ वर्ष अघि झरेका कटवालले एकपटक कांग्रेसलाई भोट लगाएका छन् । यसबाहेकको निर्वाचनमा कम्युनिष्ट उम्मेदवारलाई मात्रै भोट खसालेको कटवालको भनाइ छ । अघिल्लो निर्वाचनमा दुई तिहाई नजिकको बहुमत दिँदा पनि कम्नियटले केही नगरेको उनको दुखेसो छ । उनी हाम्राभन्दा राम्रा व्यक्तिलाई जिताउन आग्रह गर्दछन् । “शेखरजीमा ठूलो हिम्मत छ भन्ने मैले बुझेको छु,” कटवालले भने, “पाँच–पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई उहाँले टक्कर दिनु भएको छ । पूर्व अझ मोरङको पहिलाको राजनैतिक शाख फिर्काउन पनि शेखरजीले जित्नु जरुरी छ ।” संवाददाताले भेटेर कुरा गरेका १६० जनामध्ये १२३ जनाले कोइरालालाई भोट हाल्ने बताएका थिए ।

बूढीगंगाकै ६६ वर्षीय माणिकचन चौधरीले पनि कोइरालालाई भोट हाल्ने मनस्थितिमा पुगेका छन् । हाल उनी जसपामा आबद्ध छन् । मधेस आन्दोलनअघि उनी नेकपा एमालेका आबद्ध थिए । सबै जातजाति, धर्म र सम्प्रदायका मानिसलाई जोड्ने पार्टी कांग्रेस रहेछ भन्ने निष्कर्षमा उनी पुगेका छन् । यसपटक शेखरलाई जिताउने अभियानमा जुटेका छन् । मधेसवादी दलहरु सबै सत्ता र शक्तिको पछाडि लागेकोमा उनको दुखेसो छ । “मोरङ–६ मा यसपटक शेखर कोइरालाले जित्नुपर्छ भन्ने मेरो विचार छ,” उनले भने, “उहाँले जित्नु भयो भने मोरङमात्रै होइन पूर्वकै लागि केही गर्नुहुन्छ जस्तो लाग्छ मलाई ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५