पूर्वाञ्चल खबर
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई समेत कुनै जानकारी नदिई उनले विराटनगरमा बिताएको यो समयले अहिले स्थानीय राजनीतिमा चर्चा पाएको छ।
बालेन आज विहान १० बजेर ५६ मिनेटमा विराटनगरको एयरपोर्ट रोडस्थित पर्पल हेज रेस्टुरेन्ट पुगेका थिए। बुद्ध एयरलाइन्सको १२ बजेको उडानबाट काठमाडौँ फर्किने उनको तालिका थियो। तर, प्राविधिक कारणले विमान ढिलो (डिले) भएपछि उनले करिब ३ घण्टाभन्दा बढी समय सोही होटलमा बिताउनुपरेको थियो। उनी होटलबाट अपराह्न २ बजेर ५३ मिनेट मात्र विमानस्थलतर्फ प्रस्थान गरेका थिए।
कार्यकर्तालाई भएन सुइँको
बालेनजस्ता प्रभावशाली नेता विराटनगरमा झण्डै चार घण्टा बस्दा पनि रास्वपाका मोरङका नेता तथा कार्यकर्ताहरूले पत्तो समेत पाएनन्। सामान्यतया पार्टीका माथिल्लो तहका नेताहरू जिल्ला भ्रमणमा आउँदा स्वागत र भेटघाटको तामझाम हुने गरे पनि बालेनको यो बसाइ पूर्णतया गोप्यु रह्यो। उनले होटलमा बस्दा कुनै पनि स्थानीय नेतालाई खबर नगरेको बुझिएको छ।
किन गए काठमाडौँ ?
बालेन भोलिदेखि सुरु हुने रास्वपाको देशव्यापी चुनावी सभाको तयारीका लागि काठमाडौँ फर्किएका हुन्। रास्वपाले भोलि धनगढीबाट आफ्नो चुनावी सभाको औपचारिक सुरुवात गर्दैछ। सोही सभालाई सम्बोधन गर्न र रणनीतिक तयारीका लागि उनी हतार(हतार काठमाडौँ लागेका हुन्।
विराटनगर आउनुअघि बालेनले आज विहान एक घण्टा आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेका थिए। त्यहाँ पनि उनले स्थानीय कार्यकर्ताहरूलाई कुनै जानकारी नदिई सुटुक्क विराटनगर हुँदै काठमाडौँको बाटो तय गरेका थिए।
यसरी आफ्नै पार्टीका कार्यकर्तालाई समेत जानकारी नदिई बालेनले गरेको यो छोटो विराटनगर यात्रा र साइलेन्ट मुभुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।