प्रदेश १ बाट ओलम्पिक, एसियन र साफ गेम्समा सहभागी खेलाडीलाई आज विराटनगरमा एक कार्यक्रमको हायोजना गरेर प्रदेश १ खेलकुद विकास बोर्डले सम्मान गर्ने भएको हो ।
प्रदेशबाट विभिन्न समयमा ओलम्पिक खेलमा सहभागी नौ, एशियन खेलमा ३६ र साफमा सहभागी १५० खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सामाजिक विकाश मन्त्री राजन राई, विराटनगरमहानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले सम्मान गरे ।
नोबेल मेडिकल कलेज विराटनगर र काठमाण्डौं मेडिकल कलेजले सम्मानित खेलाडीहरुलाइ आगामी पाँच बर्षसम्म निःशुल्क केविनसहित स्वास्थ्य उपचार सेवा उपलव्ध गराउनुका परिवारका सदस्यहरुलाई ५० प्रतिशत छुटमा सेवा दिने सम्झौता भएको जानकारी वोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए ।
सम्मानित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खेलाडी राष्ट्रको गहना रहेको बताए । सरकारले खेलाडीहरुलाई उच्च प्राथमिकता एवं सम्मान दिएको छ भन्दै मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट विश्वमा नेपाललाई चिनाउने कार्यमा खेलाडी सफल भएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खेलकदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
सामाजिक विकास मन्त्री राईले प्रदेशमा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षकहरुलाई विशेष तालीम लगायत खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले खेललाई व्यवसायिक रुपमा अगाडि वढाउनु पर्नेमा जोड दिए ।
यस अघि मुख्यमन्त्री राई खेलाडीको सम्मानमा कार्यक्रमस्थलसम्म प्रहरी व्याण्ड र खेलाडीहरुका साथमा पैदलयात्रा गरेका थिए ।
तपाईको प्रतिक्रिया