पूर्वाञ्चल खबर
इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई आज बिहान करिब ३ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गर्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ४७ पोका गाँजा बरामद गरेको थियो ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार बरामद गाँजाको तौल १ हजार ४५४ किलो ८७० ग्राम रहेको छ ।
प्रहरीका अनुसार यादवविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । मुद्दामा फरार रहेका उनी गाँजाको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन् ।
गाँजा र पिकअपसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।