खबर पूर्वाञ्चल
विराटनगर/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरको आयोजनामा अंग्रेजी शिक्षकहरूका लागि एकदिने सघन कार्यशाला “इमर्जिङ ट्रेन्ड्स इन इएसएल पेडागोजी” आज विराटनगरमा सम्पन्न भएको छ।
प्याब्सन विराटनगरको आयोजना तथा वेदान्त पब्लिकेसन्स र ग्रन्थघर पब्लिकेसन्स एण्ड डिस्टिब्युटरको प्राविधिक सहकार्यमा आयोजित उक्त कार्यशालामा विराटनगरका ३५ वटा सदस्य विद्यालयका ४४ जना अंग्रेजी शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन गर्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले आधुनिक शैक्षिक परिवेशमा शिक्षकहरूको सीप विकास अपरिहार्य रहेको बताए। अध्यक्ष श्रेष्ठले भने, “समयको तीव्र परिवर्तनसँगै शिक्षण पद्धतिमा पनि नवीनता र परिमार्जन आवश्यक छ। हाम्रा सदस्य विद्यालयका शिक्षकहरूलाई विश्वस्तरीय शिक्षण विधि र आधुनिक प्रविधिसँग अभ्यस्त गराउन यो कार्यशाला कोसेढुङ्गा सावित हुनेछ। हामी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सदैव प्रतिबद्ध छौँ।”
कार्यशालामा विशिष्ट अंग्रेजी भाषाविद् एवं प्रख्यात विज्ञ हेमन्तराज दाहालले मुख्य सहजकर्ताको भूमिका निर्वाह गरे। उनले विशेषगरी कक्षा ४ देखि १० सम्म अध्यापन गर्ने शिक्षकहरूलाई लक्षित गरी समसामयिक रणनीति, डिजिटल शिक्षण सामग्रीको प्रयोग र दोस्रो भाषाका रूपमा अंग्रेजी सिकाउने नयाँ आयामहरूबारे व्यावहारिक प्रशिक्षण दिए।
कार्यक्रममा बोल्दै वेदान्त पब्लिकेसन्सका प्रबन्ध निर्देशक मनोज रेग्मीले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट पाठ्यसामग्रीसँगै दक्ष र तालिमप्राप्त शिक्षकको आवश्यकता पर्ने उल्लेख गरे। रेग्मीले भने, “हामी केवल गुणस्तरीय पुस्तक मात्र प्रकाशन गर्दैनौँ, शिक्षकहरूको क्षमता अभिवृद्धि र शिक्षण कौशल सुधारमा पनि प्याब्सनसँग सधैँ सहकार्य गर्न तयार छौँ। यस्ता प्राज्ञिक अभ्यासले समग्र शैक्षिक स्तरलाई थप उचाइमा पुऱ्याउने हाम्रो विश्वास छ।”