माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित चार सञ्चालकबाट ९ बढीे घोटाला  

खबर पूर्वाञ्चल, १० भाद्र २०८०, आईतवार १२:२३
3.03k
Shares
विराटनगर /  विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ ।

सहकारीको अनियमितता  छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा यस्तो अनियमितता भएको खुलेको हो । प्रतिवेदन अुनसार सहकारीका अध्यक्ष कर्णसहित चार जना सञ्चालकहरुले पाँच सयभन्दा बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार  ६ सय १ रुपैयाँ हिनामिना गरेका छन् ।

जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्यीय  समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख  ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्कीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको धेरै  रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा बिवेकशील पार्टीका नेता हुन् । उनले स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी दिएका थिए ।

यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । जिल्ला सहकारी संघ सदस्य गुरुङको संयोजत्वमा गठित समितिमा राष्ट्रिय सहकारी बैंक लि. विराटनगर प्रमुख प्रभु पोखरेल, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुङगेल र सहकारीका सदस्य श्यामराज कोइराला सदस्य थिए । समितिले छानविन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई प्रतिवेदन बुझाएको छ ।

उक्त छानविन प्रतिवेदन अनुसार सहकारीका अध्यक्ष कर्णसहित सञ्चालक समितिका सदस्यहरुले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको देखाएको छ । छानविन प्रतिवेदनले हिनामिना गरेको देखाएपछि सात दिनभित्रमा हिसाब फरफारक गरी उक्त प्रतिवेदन कार्यन्वयन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता वितिसक्दा पनि घोटाला गर्ने संचालकहरु हिसाब फरफारक नगरेर अहिले फरार भएका छन् ।

सहकारीको रकम हिनामिना गर्ने सञ्चालकहरुले सहकारीको नियम, मूल्य मान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरुले आफन्त र नातागोताका व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोडभन्दा  बढी रकम धितो नराखी ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाव दिएको छ ।

प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको  देखिएको छ । थापाको झापाको धुलाबारीमा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलावारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किता नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।

व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैकको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फ्रेब्रुरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टोबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखिएको छ । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्याउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मंसिर २८ गते भएको लेखा परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकाश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पुरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लगानी जम्मा २०५ जनामा देखाएको मध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म  ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्कीले गरेको ऋण लगानी अहिले जोखिममा रहेको छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हिनामिना गरेका सञ्चालकहरुले तिर्नुपर्ने रकम तिर्न दिएको तीन महिनाको अवधि पनि पुरा भएकोले अब थप कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए । ‘छानविन समितिले प्रतिवेदन दिएपछि हिनामिना गरेको  हिसाब फरफारक गर्ने समय दिएको थियो । त्यो पूरा भयो । अहिलेसम्म घोटाला गरेको रकम नबुझाएपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘घोटाला गर्ने सञ्चालकको सम्पत्ति रोक्का राखेर तिर्न लगाउने हो । असुलउपरका लागि पहल गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५