पूर्वाञ्चल खबर
जिल्ला खेलकुद विकास समिति मोरङले हिजो र आज आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रदेशस्तरमा जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरूको टुंगो लागेको हो ।
जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङका अनुसार छनोट टोलीमा ९४ खेलाडी र १२ जना अफिसियल ९प्रशिक्षक तथा व्यवस्थापक० रहेका छन् । जिल्लाले ६ वटा खेल विधामा खेलाडी छनोट गरेको हो । जसअन्तर्गत भलिबलमा १८, एथलेटिक्समा २२, उसुमा १२, करातेमा १२, तेक्वान्दोमा १२ र कबड्डीमा १८ जना खेलाडी छनोट भएका छन् ।
छनोट भएका खेलाडीहरूले इटहरीमा भोलीदेखि सुरु हुने प्रदेशस्तरीय प्रतियोगितामा मोरङको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका १ हजार ७ सयभन्दा बढी खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहनेछ ।
प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन पाउनेछन् ।
छनोट भएका खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष तामाङले उच्च मनोबलका साथ प्रदर्शन गरी जिल्लाको प्रतिष्ठा बढाउन आग्रह गरे । उनले विभिन्न पालिकाबाट आएका खेलाडी र प्रशिक्षकहरूलाई धन्यवाद दिँदै खेलाडीहरू देशको गौरव भएको बताए । ‘खेलाडीहरू कसैका गहना मात्र होइनन् जसलाई बन्धक बनाएर राखियोस्, उनीहरू त देशका गौरव हुन्,’ उनले भने ।
प्रतियोगिताअन्तर्गत करातेका खेलहरू मोरङको पथरीमा सञ्चालन गरिएको थियो भने अन्य विधाका खेल विराटनगरस्थित सहिद मैदानमा भएका थिए । करातेको संयोजकमा कुन्ती गुरुङ, तेक्वान्दोमा नारायण बुढाथोकी, एथलेटिक्समा दिनेश कर्ण, कबड्डीमा नवीन यादव, उसुमा विनोद मारिक र भलिबल संयोजकमा देवेन्द्र भण्डारी रहेका थिए ।