खबर पूर्वाञ्चल
विराटनगर / नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ ।
आज भएको दोस्रो टी– २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
३ खेलको सिरिज नेपालले २–० को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । अब अन्तिम खेल सोमबार विहान हुनेछ ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले २ रन मात्र बनाएको थियो । सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पाएको थियो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।
जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल आएका थिए । उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे ।
डलासमा भएको खेलको अन्तिम ओभर र सुपर ओभरमा तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेले ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ६ विकेटको क्षतीमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने । भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच शतकीय साझेदारी भएको थियो ।
नेपालका करण केसीले सर्वाधिक ३ विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।
नेपालका भुर्तेलबाहेक ओपनर अनिलकुमार शाहले २५ रन तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान २–२ विकेट लिए । सौरभ नेत्राभाल्करले १ विकेट हात पारे ।
तपाईको प्रतिक्रिया