RUMPUM
animated ellipse animated ellipse

मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७९, शुक्रबार १८:३३
126
Shares
विराटनगर / आगामी आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई लक्षित गर्दै ७ हजार ४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘म्यादी र नेपाल प्रहरीलाई सम्बन्धित मतदानस्थल तथा मतदान केन्द्रमा खटाइसकिएको छ,’ प्रजिअ दाहालले भने, ‘नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि आआफ्नो जिम्मेवारीसहित चुनाव केन्द्रित गरिएको छ ।’ निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त र मजवुत बनाउँन मतदान स्थल एवं मतदान केन्द्रको स्थलगत निरीक्षण गर्ने काम भइरहेको उनको भनाइ छ ।

निर्वाचन आचारसंहिता उल्लंघनका घटना हुन नदिन, गस्ती र पेट्रोलिङ तीव्र बनाएर चेकजाँच बढाउन, सवारीसाधन र शंकास्पद व्यक्तिमाथि निगरानी गर्न, चुनाव विरोधी समूहको पहिचान गरेर नियन्त्रणमा लिन, निर्वाचनमा असर पुर्याउनसक्ने सम्भावित खतरालाई रोक्न र मतदानस्थलको सुरक्षा गर्न सुरक्षाकर्मीले विशेष भूमिका निर्वाह गर्ने दाहालले बताए । मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षामा कुनै कमजोरी हुन नदिने उनको भनाइ छ । भारतसँग सीमा जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमामा दुई देशका सुरक्षाकर्मीको गस्ती बढाइएको छ ।

निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई सुरक्षाकर्मीले उच्च निगरानीमा राख्ने र आवश्यक सुरक्षाको प्रबन्ध मिलाइने मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सीमा क्षेत्रमा शंकास्पद गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने कोइरालाको भनाइ छ । निर्वाचनको सबै तयारी पूरा भएसँगै मोरङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई मतदानस्थलमा खटाइसकिएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलका अनुसार मोरङमा निर्वाचनका लागि ६ हजार ७ सय १२ जना कर्मचारी परिचालन गरिएको छ ।

एउटा मतदान केन्द्रमा बढीमा ८ जनाका दरले कर्मचारी परिचालन गरिने उनले बताए । साथै ५ सय मतदाता भएको केन्द्रमा ३ जनासम्म स्वयंसेवक पनि खटाइने छ । मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृत ढुंगेलले मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकिएको बताए । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ,’ उनले भने । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर