खबर पूर्वाञ्चल
चुनावी अभियानका क्रममा मधेसका विभिन्न जिल्ला पुगेका शाहले राजविराज र मिर्चैयामा देखाएको शैलीले मधेसको स्वाभिमान र समर्थकको भावनामा चोट पुगेको गुनासो बढेको छ।
आज आज सप्तरीको राजविराज पुगेका बालेनले गजेन्द्र चोकमा रहेको स्वर्गीय गजेन्द्रनारायण सिंहको सालिकमा गाडीबाटै माला फ्याँकेपछि विवाद उत्पन्न भएको हो। मधेसका अधिकार र संघीयताका जननी मानिने गजेन्द्र बाबुको सालिकमा माल्यार्पण गर्न ठुला नेताहरू भुईँमा ओर्लिएर श्रद्धा सुमन अर्पण गर्ने परम्परा रहे पनि बालेनले गाडीबाटै माला फ्याँक्नुलाई मधेसी स्वाभिमानमाथिको प्रहारका रूपमा हेरिएको छ। स्थानीयले उनको यो शैलीलाई ‘अहंकारी’ भन्दै निन्दा गरेका छन्।
त्यसैगरी, सिरहाको मिर्चैयामा पनि बालेनको व्यवहारले समर्थकहरू निराश भएका छन्। दिउँसो २ बजेर २९ मिनेटमा मिर्चैया आइपुगेका शाहले दुई घण्टादेखि प्रतीक्षारत सयौँ समर्थकलाई कुनै सम्बोधन गरेनन्। गाडीबाटै घण्टी बजाउँदै र अभिवादन गर्दै उनी सरासर अगाडि बढेपछि मिर्चैयाका रामेन्द्र यादवले आफ्नो निराशा व्यक्त गरे। उनले आफूहरू बालेनको धारणा सुन्न आए पनि नेताले रोकिन समेत आवश्यक नठानेको बताए।
सामाजिक अगुवा जितेश कर्णले बालेनको यो शैलीले उनी ‘नेता कि सेलिब्रेटी’ भन्ने प्रश्न उब्जाएको टिप्पणी गरेका छन्। हुलाकी सडक र पूर्व(पश्चिम राजमार्ग हुँदै धनुषा र महोत्तरीतर्फ लागेका शाहको यस्तो कार्यशैलीले चुनावी अभियानमा कस्तो असर पार्छ भन्ने चर्चा मधेसमा सुरु भएको छ।