खबर पूर्वाञ्चल
विराटनगरको सहिद रंगशालामा आज राती भएको खेलमा बुढासुब्बा गोल्डकपको विजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्कम अन्तिम चारमा पुगेको हो ।
जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको विजेता टिमसँग खेल्नेछ ।
जितको लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए ।
एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा निकालेको पास शिशीरले गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो । ५९ औ मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो । निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९ औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे । सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए । आर्दशले प्रहार गरेको फ्रिकीक बलले जाली चुमेको थियो । टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।
हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीहरुबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए । ‘आइतबार दुई जना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो । दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने ।
जितपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटिया खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए ।
भोलीको खेल इटहरी गोल्डकपको बिजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।