पूर्वाञ्चल खबर
विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्ने र शारीरिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विद्यालयले खेलकुद सप्ताह आयोजना गरेको हो।
मंगलबार आयोजित एक विशेष समारोहका बीच विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले खेलकुद सप्ताहको समुद्घाटन गरे। उद्घाटन मन्तव्य राख्दै प्रिन्सिपल भट्टराईले शिक्षासँगै खेलकुद विद्यार्थीको व्यक्तित्व विकासका लागि अपरिहार्य रहेको बताए। उनले खेलले विद्यार्थीहरूमा अनुशासन, सामूहिक कार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उल्लेख गरे।
चार दिनसम्म सञ्चालन हुने यस खेलकुद महोत्सवमा नर्सरीदेखि कक्षा १० सम्मका ७ सयभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन्।
विद्यालयका भाइस प्रिन्सिपल पिके कामतले यसपटकको खेलकुद सप्ताहमा एक दर्जनभन्दा बढी विधाका खेलकुद गतिविधिहरू समावेश गरिएको जानकारी दिए।
‘हामीले विद्यार्थीहरूको उमेर र रुचि अनुसारका खेलहरू छनौट गरेका छौँ,’ भाइस प्रिन्सिपल कामतले भने, ‘साना बालबालिकाहरूका लागि रमाइला खेलहरू र माथिल्लो कक्षाका विद्यार्थीहरूका लागि दौड, फुटबल, भलिबल लगायतका विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश छन्।’
यस खेलकुद सप्ताहमा विद्यार्थीहरूलाई विभिन्न सदनमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समापन समारोहमा पदक तथा प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ। खेलकुद सप्ताह आगामी शुक्रबारसम्म चल्नेछ।