खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०८०–०८१ मा २ हजार ८ सय ६८ स्थानमा घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १४ जिल्ला रहेको प्रदेशभित्र बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणसमेतका घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
सबैभन्दा धेरै १ हजार ७ सय ३१ स्थानमा आगलागी भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार ४ सय ९६ स्थानमा पहिरो, २ सय ५३ मा जंगली जनावरको आक्रमण, १ सय ८४ मा हावाहुरी, १ सय १७ मा बाढी र ८७ स्थानमा चट्याङका घटना भएका छन् । विभिन्न घटनामा ७७ जनाको मृत्यु भएको दाहालले बताए ।
घटनामा परेर २ सय ७७ जना घाइते भएको उनको भनाइ छ । सबैभन्दा धेरै मानिसको मृत्यु बाढीबाट भएको छ । बाढीले २२ जनाको मृत्यु र २४ जना घाइते भएको दाहालले बताए । उनका अनुसार आगलागीमा परेर २०, चट्याङ र जंगली जनावरको आक्रमणबाट १३–१३ तथा पहिरोका कारण ९ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १ सय ३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।
कार्यालयका अनुसार विभिन्न विपद्मा परेर ७ हजार ९ सय ८ वटा चौपाया मरेका छन् । एसएसपी दाहालले विपद्का कारण २ हजार २ सय ७४ घर प्रभावित बनेको बताए । उनका अनुसार आगालागीका कारण ७ सय ५८, बाढीका कारण ६ सय ३८, पहिरोबाट ५ सय ८६, जंगली जनावरका कारण १ सय ७५, हावाहुरीबाट ८४ र चट्याङले ३३ वटा घर प्रभावित बनेका हुन् । मनसुनजन्यलगायतका विपद्बाट भइरहेको जनधनको क्षति न्यूनीकरणमा सुरक्षा निकायले प्रभावकारी काम गरिरहेका छन् । विपद्का घटना हुँदा खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरिएको जानकारी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले दिए । विभिन्न घटनामा १ वर्षको अवधिमा नेपाल प्रहरीका तर्फबाट १७ हजार ६ सय ८१ जना परिचालन गरिएको उनको भनाइ छ ।