पूर्वाञ्चल खबर
दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठलाई मार्टर्स मेमोरियल फाउण्डेसनले प्रिन्सिपलको जिम्मेवारी सुम्पिएको हो। आज आयोजित एक समारोहबीच उनलाई पदस्थापन गरिएको छ।
विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक भौतिक पूर्वाधारसहित यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको कलेजले श्रेष्ठलाई नेतृत्व सुम्पिएको हो।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल श्रेष्ठले गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नु आफ्नो मुख्य लक्ष्य रहने बताए। ‘मलाई विश्वास गरेर यो महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा फाउण्डेसनप्रति आभारी छु,’ उनले भने, ‘हामी विद्यार्थीलाई भयरहित र प्रविधिमैत्री वातावरणमा उत्कृष्ट शिक्षा दिनेछौँ।’
प्रिन्सिपल श्रेष्ठले मार्टर्स मेमोरियल कलेजले अन्य कलेजहरूले जस्तो प्रवेश परीक्षा (इन्ट्रान्स) नलिने घोषणा गरे। उनले भने, ‘विद्यार्थीले एसईईमा प्राप्त गरेको नतिजा नै उनीहरूको क्षमताको मापन हो, त्यसैले हामीले थप प्रवेश परीक्षाको बोझ नथपी एसईईकै नतिजाका आधारमा भर्ना लिने निर्णय गरेका छौँ।’
कलेजको विज्ञान संकायको संयोजक (कोअर्डिनेटर) मा किरण दासलाई नियुक्त गरिएको छ। कलेज सञ्चालक समितिको अध्यक्षमा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल रहेका छन्।
३१ जना प्रतिष्ठित सञ्चालकहरू आबद्ध रहेको यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ। विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा कलेज सञ्चालनमा ल्याइएको हो। साढे ५ कट्ठा जग्गामा निर्मित चारतले अत्याधुनिक भवन पूर्ण रूपमा वातानुकूलित (एसी) हुनुका साथै यहाँ स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालाको सुविधा रहेको छ।
गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको माध्यमबाट विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।