पूर्वाञ्चल खबर
हिजो विराटनगर आइपुगेको डा. रिजालको टोलीले यहाँका विभिन्न अस्पतालहरूमा पुगेर चिकित्सकहरूसँग भेटघाट गर्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेको हो।
‘सुरक्षित सेवा, सुरक्षित पेसा’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको यो प्यानलले चिकित्सकहरूको भौतिक सुरक्षा र दरबन्दी वृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।
अस्पतालमै पुगेर चिकित्सकसँग संवाद
चुनावी देश दौडहाका क्रममा विराटनगर आइपुगेको डा. रिजालको टोलीले बिहीबार दिनभर विराटनगरका ठूला अस्पतालहरूको भ्रमण गर्यो। टोलीले नोबेल मेडिकल कलेज, विराट टिचिङ हस्पिटल, कोशी अस्पताल, र विराटनगर आँखा अस्पताललगायत एक दर्जन स्वास्थ्य संस्थामा पुगेर कार्यरत चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरेको थियो।
साँझ विराटनगरमा आयोजित भेलामा कोशी प्रदेशका चिकित्सकहरूका समस्या सुन्दै अध्यक्षका उम्मेदवार डा. रिजालले आगामी कार्यकालमा चिकित्सकहरूको हकहितका लागि कडा रूपमा उभिने प्रतिबद्धता जनाए।
१० हजार दरबन्दी थप्ने लक्ष्य
भेलालाई सम्बोधन गर्दै डा. रिजालले विगत तीन दशकदेखि ओएनएम सर्भे नहुँदा चिकित्सकहरू बेरोजगारीको चपेटामा परेको बताए। उनले भने, ‘हाम्रो टिमले कार्यकालभर देशभरका सरकारी अस्पतालमा थप १० हजार चिकित्सक दरबन्दी सिर्जना गर्न सरकारलाई दबाब दिनेछ। कार्यकालको पहिलो वर्षमै २ हजार १ सय दरबन्दी थप्न हामीले पहलकदमी लिनेछौँ।’ उनले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूका लागि पनि सरकारी सरहको वैज्ञानिक न्यूनतम तलबमान लागू गराउने आश्वासन दिए।
कार्यस्थलमा चिकित्सकमाथि हुने बढ्दो भौतिक आक्रमण र दुर्व्यवहार रोक्न डा. रिजालको टिमले ‘र्यापिड रेस्पोन्स टिम’ गठन गर्ने योजना अघि सारेको छ। उक्त टिमले अप्ठ्यारोमा परेका चिकित्सकलाई तत्काल कानुनी र भौतिक सुरक्षा प्रदान गर्ने बताइएको छ। डा। रिजालले स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐन र ‘जेल विदाउट बेल’ को प्रावधानलाई अक्षरशः कार्यान्वयन गराउन आफ्नो टिम प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा बोल्दै उनले चिकित्सा शिक्षामा देखिएका विसंगति हटाउन स्नातकोत्तर अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको प्रावधान खारेज गर्न पहल गर्ने उल्लेख गरे ।
बलियो टिमको साथ
डा.रिजालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, र केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजकमा डा. रोशन खड्कासहितको बलियो टोली चुनावी प्रतिस्पर्धामा छ। त्यस्तै डा. अमित रञ्जन मिश्र (मधेश(, डा सुवास भट्टराई (बागमती), डा नवराज लम्डारी (गण्डकी), डा नन्दा गुरूङ (लुम्बिनी) र डा प्रमोद जोशी (सुदूरपश्चिम) ले उम्मेदवारी दिएका छन्।
महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा. तेजसुसिंह मल्लले उम्मेदवारी दिएका छन्। सदस्यहरुमा डा. पर्शुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्लेले उम्मेदवारी दिएका छन्।
नेपाल चिकित्सक संघको निर्वाचन तालिका अनुसार उपत्यका बाहिर आगामी माघ २ र ३ गते मतदान हुँदैछ। कोशी प्रदेशका चिकित्सकहरूमाझ डा. रिजालको टिमले प्रस्तुत गरेको स्पष्ट कार्ययोजना र सुरक्षाको ग्यारेन्टीले चुनावी माहोल थप तातेको छ। निर्वाचनका लागि डा. रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले छुटा छुटै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।