पूर्वाञ्चल खबर
यूएनएफपीएको सहयोगमा गत कात्तिक २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । विराटनगर महानगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको कटारी नगरपालिकासँगको सहकार्यमा सञ्चालित तालिमका प्रशिक्षार्थीहरुलाई कृष्टल पोते माला र बाटेको धुप बनाउने तालिम दिइएको थियो ।
तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्माले प्रमाणपत्र वितरण गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले एवीसी जस्ता संस्थासँग मिलेर लैंगिक हिंसा प्रभावितहरुका लागि महानगरले विगतदेखि नै काम गर्दै आएको बताए । मेयर कोइरालाले आगामी दिनमा पनि लैंगिक हिंसा प्रभावितहरुलाई स्वरोजगार बनाउन सीप र क्षमता विकास हुने तालिममा महानगर साझेदार बन्न तयार रहेको प्रतिबद्धता जनाए । ‘एवीसीजस्ता संस्थासँग मिलेर लैंगिक हिंसा प्रभावितहरुको जीवनस्तर माथि उठाउन विभिन्न सीपमूलक तालिम दिन महानगर तयार छ,’ मेयर कोइरालाले भने, ‘उत्पादित वस्तुको बजारको खोजी गरिदिन पनि महानगर तयार छ ।’
तालिमबाट घरमै बसीबसी आयआर्जनमा जोडिन सकिने बताउँदै मेयर कोइरालाले महानगरले बजारको खोजीका लागि सहजीकरण गरिदिने स्पष्ट पारे । तालिमलाई तालिममा मात्रै सीमित नराखी आयआर्जनमा जोड्नसमेत उनको आग्रह थियो ।
एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले घरबाटै आयआर्जनमा जोडिन सकिन्छ भनेर तालिम आयोजना गरिएको जानकारी दिइन् । विगतमा पनि एवीसीले सीपमूलक तालिम दिएको बताउँदै शर्माले भनिन्, ‘एवीसीले दिएको तालिमबाट धेरै महिलाहरू आयआर्जनमा जोडिएका छन् ।’ उनका अनुसार ब्यूटीपार्लर, सिलाइकटाई, कम्प्युटरलगायतका तालिम दिइएको छ । तालिममा सहभागीहरुलाई प्रशिक्षक आशा श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
तालिममा सहभागीहरुले पनि खुसी व्यक्त गरेका छन् । तालिममा धेरै कुरा सिकेको र अब घरमै बसेर आयआर्जनमा जोडिने उनीहरुको भनाइ थियो । विराटनगर–९ की मुन्नी साहले तालिमले आफूमा धेरै परिवर्तन आएको बताइन् । ‘अब घरमै बसेर छोराछोरी हेर्दै र घरधन्दा गरेर केही आर्जन गर्न सक्छु भन्ने लागेको छ,’ उनले भनिन्, ‘तालिममा धेरै कुरा सिकेको छु । अब सिकेको सीपलाई व्यवहारमा उतार्नेछु ।’
एवीसीले लैंगिक हिंसामा परेका महिलाहरूका लागि सिलाइकटाइ, ब्यूटीपार्लर, कम्प्युटरलगायतका तालिम प्रदान गर्दै आएको छ । यूएनएफपीएको सहयोगमा सिएमसी नेपालको सहकार्यमा एवीसी नेपालले विराटनगर, उदयपुरको कटारी र ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सेफहाउस सञ्चालन गरेको छ । हाल विराटनगरमा ६२, उदयपुरमा १९ र ओखलढुंगामा२९ जनासहित १ सय १० जनाले सेवा लिइरहेका छन् ।