खबर पूर्वाञ्चल
पार्टी सभापति शेरबहादुर देउवाले तत्काल सरकारमा जाने विषयमा अग्रसरता देखाएका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने ओलीको विकल्प खोजेर कांग्रेसले निकास दिनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले ब्यूँताइदिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसभित्र तत्काल सरकारमा जाने या नजाने भन्ने विषयमा दुई खाले मत देखिएको थियो । पार्टी सभापति देउवा सरकारमा जाने लोभमा लागेको भन्दै अर्को पक्षले विरोध गरेको थियो ।
त्यसलगत्तै नेकपाको एकीकरण बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदातलको अर्को फैसलापछि सरकार गठनबारे कांग्रेसभित्र लगभग एकमत देखिएका थियो ।
प्रधानमन्त्री ओलीसँग रुष्ट रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्न कांग्रेस नेतृत्वलाई पार्टी भित्रबाटै दबाब पर्दै आएको छ । तर पछिल्लो समय सभापति देउवा भने तत्काल सरकारमा जान हतार गर्न नहुने बताउन थालेका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग बोल्दै देउवाले प्रतिपक्ष पार्टी भएकाले सत्ताका लागि कांग्रेसले मरिहत्ते नगर्ने बताए ।
तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले भने प्रधानमन्त्री ओली लोकतन्त्र नै मास्ने षडयन्त्रमा लागेका दावी गदै कांग्रेसले उनको विकल्प खोज्न ढिलाइ गर्न नहुने बताउँदै आएका छन् ।
कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीले भत्काएका संविधानका भ्वाङ टालेर चुनावमा जान कांग्रेसले निकास दिनुपर्ने बताए ।
नेपाली कांग्रेसले अग्रसरता नलिदा प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्न अप्ठयारो परिरहेको माओवादी केन्द्रलगायतका दलहरूले बताउँदै आएका छन् । जनता समाजवादी पार्टीभित्र पनि एमाले वा कांग्रेस कसलाई समर्थन गर्ने भन्ने विवाद छ ।
तपाईको प्रतिक्रिया