पूर्वाञ्चल खबर
विराटनगर / मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको रहस्यमय मृत्युको घटना सुल्झाउन नेपाल प्रहरी सफल भएको छ ।
घटनाको करिब साढे दुई महिना लामो गहन अनुसन्धानपछि प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।अंशुको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिकारीलाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।
‘अपरेसन जग’ र सीआईबीको सहयोगमा सफल भयो । अंशु हत्या घटनाको अनुसन्धान नेपाल प्रहरीका लागि निकै चुनौतीपूर्ण थियो । असोज २१ गते घरबाटै हराएकी बालिकाको शव १८ दिनपछि कात्तिक ७ गते मात्र घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीको बीचमा टुक्रा टुक्रा भएको कंकालको रूपमा फेला परेको थियो ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)र कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । प्रहरीले यस अनुसन्धान अभियानलाई ‘अपरेसन जेएजी’ अर्थात अपरेशन जग नामकरण गरेको थियो ।
अनुसन्धानका क्रममा सीआईबीका दक्ष अनुसन्धान अधिकृतहरू लामो समयसम्म मोरङमै मुकाम खडा गरेर खटिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले पत्रकार सम्मेलनमा भने, “यो घटना हाम्रो लागि अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण थियो । हामीले घटनास्थलको सूक्ष्म विश्लेषण, ३ सय भन्दा बढी व्यक्तिहरूको प्रोफाइलिन (शंकास्पदहरूको सूचीकरण), प्राविधिक विश्लेषण र फरेन्सिक जाँचपछि मात्र अभियुक्तसम्म पुग्न सफल भयौं ।” प्रहरीले अभियुक्त पहिचान गर्न केही व्यक्तिलाई पोलिग्राफ परीक्षणसमेत गरेको थियो ।
अपराधिक योजना अनुसार साथीलाई दिएका थिए पाँच रुपियाँ
प्रहरी अनुसन्धानका अनुसार घटना भएको दिन असोज २१ गते अंशु आफ्नी एक साथीसँग खेलिरहेकी थिइन् । अभियुक्त पदमबहादुर अधिकारीले ती साथीलाई ५ रुपैयाँ दिएर दिदीलाई खोजेर ल्याउन अह्राएका थिए । अंशुको साथी गएपछि, ‘घाँस काट्न सहयोग गर’ भनेर जंगलको मुखमा भेट्न बोलाएका थिए । अंशु र पदम छुट्टाछुट्टै बाटोबाट जंगलको मुखसम्म पुगेका थिए । त्यहाँबाट पदमले अंशुलाई साइकलको पछाडि राखेर जंगलतिर लगेका थिए ।
एसपी कटुवालका अनुसार, “अभियुक्तले बालिकालाई घरबाट करिब साढे ४ किलोमिटर भित्र घना जंगलमा लगेर जबरजस्ती करणी गरेको र पोल खुल्ने डरले घाँटी थिचेर तथा घाँस काट्न भनी लगेको खुर्पाले घाँटी काटेर हत्या गरेको देखिन्छ ।”
काम गर्न भनी भारतको मेघालय पुगे, घर फर्केपछि अधिकारी परे पक्राउ
घटना घटाएपछि आफूमाथि शंका नहोस् भनेर अभियुक्त अधिकारी केही दिन गाउँमै सामान्य रूपमा बसेका थिए । अंशुको खोजीमा उनी पनि खटिएका थिए । तर, प्रहरीले अनुसन्धानको घेरा साँघुरो बनाउँदै लगेपछि र शव फेला परेपछि उनी कात्तिक १९ गते घरमा कसैलाई नभनी भारतको मेघालयतिर भागेका थिए । त्यहाँ उनी गाई दुहुने काम गरेर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
“हामीले शंकास्पद व्यक्तिहरूको निरन्तर निगरानी गरिरहेका थियौं । उनी भारत भागे पनि हाम्रो संयन्त्रले ट्रयाक गरिरहेको थियो,” एसपी कटुवालले भने, “अन्ततः उनी हाम्रो पञ्जामा परे ।”
आजीवन कारावासको सजाय हुनसक्ने
नाबालिकामाथि भएको यो जघन्य अपराधले समाजलाई नै स्तब्ध बनाएको छ । मुलुकी अपराध संहिता अनुसार १२ वर्ष मुनिका वा बालबालिकामाथि हुने जबरजस्ती करणी र हत्याको घटनामा आजीवन कारावासको सजाय हुने व्यवस्था छ ।
प्रहरीले सोही कानुनी प्रावधान अनुसार अभियुक्त अधिकारीमाथि अधिकतम सजायको मागदाबी गर्दै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको न्यायका लागि भएको यो सफल अनुसन्धानले पीडित परिवारलाई थोरै भए पनि राहत महसुस गराएको छ ।