खबर पूर्वाञ्चल
सवारी साधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुल नजिक आइतबार एउटा भारतीय स्कोरपियो गाडीलाई रोकेको थियो । शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
उनका अनुसार स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा १ हजार दरका नक्कली नोटहरु बरामद गरिएको हो । स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोक्नसाथ गाडीभित्र रहेका अर्का एक व्यक्ति फरार बनेका थिए । फरार रहेका व्यक्तिको खोजी जारी राखिएको एसपी रेग्मीले बताए ।
बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार भारतबाटै ठूलो परिणाममा नक्कली नोट छापेर नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ ।