खबर पूर्वाञ्चल
करिब दशकपछि पार्टी कार्यालय पुगेकी भण्डारीले कार्यकर्तालाई सम्बोधन गर्दै आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् ।
भण्डारीको विराटनगर प्रवेशलाई रोक्न ओली पक्षधरले कार्यकर्तालाई कार्यालय नजान उर्दी जारी गरेका थिए । तर मोरङ अध्यक्ष अजम्बर राई, केन्द्रीय सदस्य रामलाल साहलगायत नेताले उनको स्वागत गरे । पार्टी कार्यालयमा उनले मदन–आश्रितको सालिकमा माल्यार्पण पनि गरिन् । सो अवसरमा जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापालगायत नेताहरू समेत उपस्थित थिए ।
भण्डारीले सम्बोधनमा “राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन आर्थिक आत्मनिर्भरता अपरिहार्य” भन्दै आफू ४५ वर्षदेखि एमाले सदस्य रहेको र राष्ट्रपति पदबाट निवृत्त भएसँगै सदस्यता नवीकरण गरिसकेको दाबी गरिन् । उनले विराटनगरलाई आफ्नो “गृह पार्टी सदस्यता र शपथको शहर” भन्दै कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
भण्डारी पक्षधरले नियन्त्रण जमाएको मोरङ जिल्ला र विराटनगर महानगर कमिटीमा भने ओली पक्षको निर्देशन बेवास्ता गरिएको देखियो । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने अनुपस्थित रहे । खतिवडाले आफूलाई औपचारिक जानकारी नआएको दाबी गरे ।
एमालेको साउन ५–६ गते बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी गतिविधिमा संलग्न हुन निषेध गर्ने निर्णय गरेको थियो । तर, त्यस निर्णयको खुलेर प्रतिवाद नगरे पनि उनले आज खुलेआम “म सदस्यको हैसियतमै सक्रिय छु” भन्दै पार्टी कार्यालयमै कार्यकर्तालाई सम्बोधन गरिन् ।
यसअघि हिजो पनि उनले मोरङमा आफ्ना समर्थकहरूसँग भेटघाट गरेकी थिइन् । आज विराटनगरस्थित पाञ्चालीस्थित कार्यालय पुग्दा सयौँ कार्यकर्ता उपस्थित रहे । यसले भण्डारी–ओलीबीचको आन्तरिक शक्ति संघर्ष अझ चर्किँदै गएको स्पष्ट देखिएको छ ।