AArya
RUMPUM
animated ellipse animated ellipse

मदिरा सेवनपछि कोशी अस्पतालमा डा. मिलन केसीको होहल्ला, स्वीपरमाथि कुटपिट आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८२, शुक्रबार १८:५५
720
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मिलन केसीमाथि मदिरा सेवन गरेर अस्पताल परिसरमा होहल्ला गर्नुका साथै कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ।

स्थायी चिकित्सक रहेका डा. केसीले आज विहान अस्पतालको क्वाटर नजिकै फोहर व्यवस्थापनको विषयमा विवाद हुँदा स्वीपर शंकर मलिकमाथि हातपात गरेको आरोप छ। विराटनगर–८ निवासी ३२ वर्षीय मलिकलाई डा. केसीले आकस्मिक कक्षअगाडि कुटपिट गरेको बताइएको छ।

घटनापछि पीडित मलिकले अस्पताल प्रशासनलाई जानकारी गराएका थिए। त्यसपछि अस्पताल प्रशासन र सरोकारवालाबीच छलफल भएको थियो। छलफलका क्रममा कर्मचारीहरूले डा। केसीमाथि विगतदेखि नै मदिरा सेवन गरेर कार्यस्थलमा आउने र अस्पतालको सेवा प्रभावित पार्ने गरेको गुनासो गरेका थिए।

आफूमाथि लागेको आरोपबारे प्रतिक्रिया दिँदै डा. केसीले कुटपिट नभई ‘सम्झाउने क्रममा डाढमा धाप मात्र मारेको’ दाबी गरे। उनले भने, ‘म बस्ने क्वाटरअगाडि फोहरको थुप्रो रहन्छ। त्यसैले सरसफाइमा ध्यान दिनु भनेर सम्झाएको मात्रै हुँ, कुटपिट गरेको होइन।’

तर अस्पताल स्रोतका अनुसार आज ११ बजे अस्पताल आउँदा पनि डा. केसीबाट मदिराको गन्ध आएको बताइएको छ। उनको व्यवहार र आचरणप्रति अस्पताल प्रशासनले गम्भीर ध्यान दिएको छ।

यसअघि पनि डा. केसीमाथि मदिरा सेवन गरेर अस्पताल परिसरमा होहल्ला गरेको आरोप लाग्दै आएको थियो। घटनाबारे विस्तृत विवरण संकलन गरी आवश्यक निर्णय लिने तयारी भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट (मेसु)( डा. रुणा झाले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर