पूर्वाञ्चल खबर
दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरस्थित विरेन्द्र सभा गृह हलमा सुरु भएको हो ।
सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिकारका विषयलाई लिएर आयोजना गरिएको यस्तै प्रकारका राष्ट्रिय सम्मेलन र प्रदेशस्तरमा महिला जनप्रतिनिधिहरुको सम्मेलनमा सहभागी हुँदा महिला जनप्रतिनिधिहरुको समस्या र चुनौतीहरुको बारेमा बुझ्ने मौका पाएको बताइन् । उनले महिला नेतृत्वले संविधानप्रदत्त अधिकार, भावनालाई कार्यान्वयन गर्दै समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन योगदान गरिरहेको बताइन् ।
विकासको सारथि महिला र पुरुष दुवै हुन् भन्ने मान्यतालाई नयाँ राज्य व्यवस्थाले स्थापित गरेको भन्दै उनले महिलाहरुको औपचारिक प्रतिनिधित्व मात्र पर्याप्त नहुने बरु नेतृत्व र निर्णय क्षमता निरन्तर बढाउँदै लैजानु पर्नेमा जोड दिइन् । ‘स्थानीय सरकारको हैशियतमा तपाइँहरु विकेन्द्रीकरणको अधिकार कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘स्थानीय तहले कृषि प्रवर्धन, स्वास्थ्य सेवा, स्वास्थ्य सुरक्षा, जैविक विविधता संरक्षण आदि दायित्व पूरा गर्ने जिम्मेवारी तपाईंहरुको हो ।
स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई विवाद समाधान गर्ने, बजेट तर्जुमा गर्ने, अनुगमन तथा सुपरीवेक्षण गर्ने आदि जिम्मेवारीहरु छन् । यी अध्यक्षको अनुपस्थितिमा नभई पूर्णकालीन कार्यकारीको जिम्मेवारी हुन् । त्यसलाई जिम्मेवारीपूर्ण ढंगबाट सफलतापूर्वक कार्यान्वयन गर्ने क्षमता विकास गर्नुपर्दछ ।’