पूर्वाञ्चल खबर
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक अवस्थाको प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ ।
मंगलबार साँझसम्मको विवरणअनुसार बाढीबाट १ हजार ५० जनाको मृत्यु पुष्टि भएको छ । चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
बाढीपछि देशका ६२ जिल्लाबाट ३ हजार ९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ । बेपत्तामध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ, जसमा २५३ जना विदेशी नागरिक छन्। हवाईमार्गबाट मात्रै ३ हजार ७०२ जनाको उद्धार गरिएको छ ।
उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ११ सुरक्षाकर्मी परिचालन भएका छन्। प्राधिकरणका अनुसार भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोलीसमेत परिचालन भएका छन ।
बाढीबाट विभिन्न स्वास्थ्य संस्थामा उपचार गराएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन् भने उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २ हजार ७४० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी बाढीबाट प्रभावित भएका छन । तीमध्ये आठ विद्यालय पूर्ण र आठ आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने तीन विद्यालय सुरक्षित रहेको प्राधिकरणले जनाएको छ। रसुवाका स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन ।
नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा स्याटेलाइट म्यापिङका आधारमा ४ हजार ६८९ भवन जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक सडक, विद्युत र सञ्चार सेवाबाट विच्छेद भएका छन।
बाढीले ४१ पक्की पुल पूर्ण रूपमा बगाएको र थप चार पुलमा क्षति पुर्याएको छ। रसुवाका मुख्य राजमार्ग अनिश्चितकालका लागि बन्द छन् भने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल टेलिकमका ११० र एनसेलका ७८ मोबाइल टावरमा समेत क्षति पुगेको छ ।
बाढी प्रभावित १५ पालिकालाई सरकारले दुई किस्तामा १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । यसैबीच रसुवाका चार, नुवाकोटका चार, धादिङका चार तथा तनहुँका दुई पालिकामा राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढीबाट रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूलीलगायत विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ। जलविद्युत र सोलार गरी ७८३।३८५ मेगावाट जडित क्षमताका आयोजना, सबस्टेसन तथा प्रसारण लाइनसमेत प्रभावित भएका छन ।