खबर पूर्वाञ्चल
आजदेखि सुरु भएको यस तालिमले स्थानीय दलित महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विराटनगर महानगरपालिका ८ नम्बर वडाको आयोजना र समृद्ध समाज नेपालको संयोजनमा तथा दलित महिला संघको सहकार्यमा आयोजना गरिएको यस तालिमको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सिपमूलक तालिमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरूको आवश्यकता रहेको बताइन् । उनले समृद्ध समाजले विराटनगरमा यस किसिमका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिइन् । उनले यस्ता कार्यक्रमहरूले समुदायका महिलाहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
तालिम कार्यक्रममा विराटनगर ८ नम्बर वडाका वडाध्यक्ष राम पोखरेलसहित वडा सदस्यहरू महम्मद अब्बास, ताराकुमारी राय भुवन राजवंशी र पवित्रा विकको उपस्थिति रहेको थियो । साथै दलित महिला संघकी अध्यक्ष सर्मिला परियारलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तालिमका लागि विराटनगर ८ नम्बर वडाका २५ जना दलित महिलाहरूले सहभागिता जनाएका छन् । उनीहरूलाई गुडिया बनाउने विभिन्न प्राविधिक सीपहरू प्रदान गरिने छ। तालिमकी मुख्य प्रशिक्षक अनु श्रेष्ठ रहेकी छिन्, जसले सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप हस्तान्तरण गर्नेछिन् ।
बसन्ती गुरुङको सञ्चालनमा भएको कार्यक्रमको सभापतित्व समृद्ध समाज नेपालकी अध्यक्ष कला डागीले गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यसले आफूहरूको आर्थिक अवस्था सुधार गर्न सहायक हुने आशा व्यक्त गरे।
यस तालिमले दलित महिलाहरूमा उद्यमशीलताको विकास गर्दै उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ । गुडिया निर्माणको सीप सिकेपछि महिलाहरूले घरमै बसेर आय आर्जन गर्न सक्नेछन् ।