पूर्वाञ्चल खबर
प्रतियोगिता अन्तर्गत अहिले भर्खरै सम्पन्न अन्तिम क्वाटरफाइनलमा पूर्व विजेता संकटा क्लव काठमाण्डौंलाई सडेनडेथमा ८–७ को गोल अन्तरले पराजित गर्दै पाउना टोली भारतको लुका सकर क्लव केरला सेमिफाइनलमा प्रवेश गरेसँगै समिकरण पूरा भएको हो ।
पेनाल्टी सुटआउटमा भारतको तर्फबाट चाल्स क्वारको, महमद रफि, कप्तान महमद अर्सद, महमद कियामुद्धिन गोल गरेका थिए । सडनडथमा महमद फैजान, हेनरी अप्पिह र अबु लाराले गोल गरे ।
संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरजजंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए । सडेनडेथमा रोशन पहरी र नेल्सनले गोल गरे भने अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाएपछि संकटा घर फर्किएको हो । संकटाले २०६९ सालमा भएको दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो ।
भारतले अब फाइनल प्रवेशका लागि मंगलबार साविक बिजेता एपीएफसँग खेल्नेछ ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
संकटा र भारतको केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
खेलको २२ औं मिनेटमा फ्रिकिकमा भारतका हयाङग्रीले गोल गर्न चुके । अकमल स्याङ्गलाई संकटाका रोशन पुरीले खुट्टामा हानेर फाउल गरेपछि भारतले फ्रिकिक पायो । फ्रिकिमा भारतका आश्वीनले डिबक्स भित्र निकालेको पास हयाङग्रीले गरेको हेडिङ्ग बार नजिकैबाट बाहिरियो ।
२७ मिनेटमा संकटाका सुरजजंग ठकुरीको ३० यार्डदेखिको फितलो प्रहार भारतको गोल किपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै संकटाका कप्तान रभी सिलवालकोे उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्रको बलमा उनको प्रहार निकै फितलो देखियो । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा संकटाले गोल गर्ने अवसर गुमायो ।
खेलको ४२ औँ मिनेटमा भारतका अकमल स्याङले संकाटाको रक्षापंक्तिलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सकेनन् । ४४ औं मिनेटमा संकटाका जुनियरले वान भर्सेस वनको स्थित चुके । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
पहिलो हाफमा केही दवावमा देखिएको भारतले दोस्रो हाफमा भने सम्हालिएर खेल प्रदर्शन ग¥यो । संकटाविरुद्ध लगातार अवसर बनाएको भारतको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको ५६ औं मिनेटमा भारतका सिबिल सिकेले आकर्षक अवसर खेर फाले । गोललाइन छेउको बलमा उनको प्रयास फितलो बन्न पुग्यो । ५९ औं मिनेटमा संकटाका गणेश हमालले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा भारतका पाउलले डिबक्स भित्रबाट गरेको कडा प्रहार संकटाका गोलकिपर विष्णुकुमार केसीले बिफल पारिदिए । थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा भारतको एपुलले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार गोलकिपरले पन्च गरेर बललाई मैदानमा फर्काए । अतिरिक्त समयको २८ औं मिनेटमा संकटाका सुरज जंग ठकुरीले निकालिदिएको लामो पास विदेशी खेलाडी निलसनले डिफेन्टरलाई कटाएर गरेको प्रहार पोसमाथिबाट बाहिरयो ।
खेलको म्यान अफ द म्याच भारतको गोलकिपर महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।
सोमबार घरेलु टिम विराटनगर सिटीले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।