खबर पूर्वाञ्चल
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । “यो सरकार सबै हिसाबले असफल छ,” उनले भने, “केपी ओलीको दम्भ, अहंकार, गलत नीति र कामले देश पुरै पीडित छ। जबसम्म ओलीलाई बिदा गरिँदैन, यो पीडा अन्त्य हुनेवाला छैन।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेभित्रै पनि गम्भीर विभाजन र भ्रमको अवस्था रहेको जिकिर गरे। “एमालेभित्र तमाशा हेर्दै जानुस्,” उनले भने, “देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याउने खेलमा लागेका छन् ओली। राष्ट्रलाई ठूलो नोक्सान हुने स्थितिमा देश पुर्याइँदैछ।”
अध्यक्ष नेपालले प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीचको गुप्त सहकार्यका कारण वर्तमान सत्ता समीकरणमा परिवर्तन नआएको पनि उल्लेख गरे।
अध्यक्ष नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा आएको दाबी गरेका छन्। उनले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयअनुसार गरिएको कामलाई भ्रष्टाचारको रुपमा चित्रण गरिएकोमा आपत्ति जनाए।
“मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,” उनले भने, “यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्। मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।”
माओवादीसँग सहकार्य हो एकता होइन
पार्टी एकताको सन्दर्भमा उठेका चर्चा नकार्दै नेपालले माओवादी केन्द्रसँग हाल कुनै पार्टी एकताबारे छलफल नभएको स्पष्ट पारे। “अहिले एकीकरणको कुरा भएकै छैन, सहकार्यको कुरा मात्रै भएको हो,” उनले भने, “समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल भइरहेको छ।”