AArya
RUMPUM
animated ellipse animated ellipse

घण्टीमा भोट नहाल्ने सिधै ‘देशविरोधी’ र ‘राष्ट्रघाती’ हुन् : रास्वपा उम्मेदवार अशोक चौधरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०८२, शुक्रबार १३:३९
117
Shares
इटहरी / सुनसरी क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अशोक चौधरीको एउटा विवादास्पद अभिव्यक्तिले इटहरीमा चुनावी माहोल तातिएको छ।

इटहरी जेसीजले आयोजना गरेको उम्मेदवारहरूबिचको संवाद (ककस) कार्यक्रममा चौधरीले मतदातालाई ‘चेतावनी’ दिएपछि कार्यक्रमस्थल रणमैदान जस्तै बन्यो।

चौधरीले सम्बोधनका क्रममा रास्वपालाई दुई तिहाइ बहुमत नदिने र घण्टीमा भोट नहाल्नेहरूलाई सिधै ‘देशविरोधी’ र ‘राष्ट्रघाती’ को संज्ञा दिएका थिए। उनले भने, ‘यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने रास्वपालाई दुई तिहाइ पुर्‍याउन लाग्नुस्। यदि लाग्नुहुन्न भने तपाईं अस्थिर सरकार चाहिरहनुभएको छ, तपाईं देशविरोधी र राष्ट्रघाती हो।’

मतदाताको स्वविवेकको अपमान गरेको भन्दै कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले तत्कालै उठेर विरोध जनाए। सहभागीहरूले ‘घण्टी मुर्दावाद’ को नारा लगाउँदै मञ्च घेराउ गरेपछि स्थिति तनावपूर्ण बन्यो। सोही क्रममा अर्का उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै कडा प्रतिवाद गरे। उनले प्रश्न गरे, ‘हामी तपाईंको प्रतिस्पर्धी हौं, के हामी पनि राष्ट्रघाती हौंरु मतदातालाई यसरी गाली गर्ने अधिकार तपाईंलाई कसले दियो ?’

नाराबाजी र होहल्लाका कारण कार्यक्रम केहीबेर अवरुद्ध बन्यो। आक्रोशित भिडले भौतिक आक्रमण गर्न सक्ने जोखिम बढेपछि त्यहाँ तैनाथ प्रहरी टोलीले उम्मेदवार चौधरीलाई सुरक्षा घेराभित्र राखेर कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा एमालेका सुजन लामा र नेकपाकी रामकुमारी चौधरी लगायतका उम्मेदवारहरूको उपस्थिति थियो। उनीहरूले लोकतान्त्रिक प्रतिष्पर्धामा यस्तो अलोकतान्त्रिक र अपमानजनक भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर