AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैँचामा आचारसंहिताको धज्जी उडाउँदै काँग्रेस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७९, आईतवार १९:४१
423
Shares
विराटचोक / मोरङको सुन्दरहरैँचा नगरपालिकामा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेको छ ।

ठाउँठाउँमा गिट्टी र बालुवा झारिदिनेदेखि लिएर विद्यालय तथा सार्वजनिकस्थल तथा व्यक्तिका घरममा पार्टीका झण्डा राख्ने लगायतका काम गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको हो ।

त्यसैगरी केही विद्यालय र सामाजिक संघ संस्था पनि काँग्रेसको चुनावी प्रचारमा खुलेरै लागेका छन् । स्थानीय ज्योति माध्यमिक विद्यालयले मेयरका उम्मेदवार शिवप्रसाद ढकाल र काँग्रेसको चुनाव चिन्ह रुखको फोटो राखेरै आफ्नो फेसबुक पेजमार्फत प्रचार गरिरहेका छन् । गठबन्धनका तर्फबाट सुन्दरहरैँचा नागरपालिकाको मेयरका उम्मेदवार शिवप्रसाद ढकालले अघिल्लो कार्यकालभन्दा ५ गुणा बढी विकास गर्ने भन्दै विद्यालयले खुलेआम प्रचार गरिरहेको हो ।

सुन्दरहरैँचा–९ बुधबारेस्थित कृषि बजार माछा–मासु भवनमा काँग्रेसको झण्डा फहराइरहेको छ । साथै व्यक्तिका घरमा पनि इच्छाविपरीत रातको समयमा झण्डा राख्ने काम भइरहेको अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य बद्री अर्यालले बताए ।

उनका अनुसार काँग्रेसले एमाले लगायत अन्य दलका समर्थकको घरमा पनि जबरजस्ती झण्डा राख्ने गरिरहेको छ । रातको समयमा सुटुक्क झण्डा राखेर निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको देखाउने प्रयास भइरहेको अर्यालले बताए । ‘सर्वसाधारणका घरमा झण्डा राख्नका लागि काँग्रेसले समूह–समूह बनाएर युवा परिचालन गरेको छ,’ उनले भने, ‘निर्वाचन आयोगलाईनै चुनौती दिने गरी गतिविधि भइरहँदा पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यानै दिएको छैन ।’

निर्वाचनलाई प्रभावित पार्ने खालका विभिन्न गतिविधि काँग्रेसले गरिरहेको अर्याल बताउँछन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित अनुसार कुनै पनि सार्वजनिकस्थलमा पार्टीका झण्डा राख्न पाइने छैन ।

सार्वजनिकस्थललाई चुनाव प्रचार गर्ने थलो बनाउन मिल्दैन । आचारसंहिताले व्यक्तिका घरमा जबरजस्ती झण्डा वा पार्टीका प्रचार सामग्री राख्न रोक लगाएको छ । तर त्यसविपरीतका गतिविधि काँग्रेसले गरिरहँदा पनि नियन्त्रण नगरिनु दुःखद् भएको अर्याल बताउँछन् ।

उम्मेदवार ढकाल २०७४ सालको निर्वाचनमा सुन्दरहरैँचा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । पुनः मेयर बन्न उनी दोस्रो पटक चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईं उपमेयरको उम्मेदवार छन् । गठबन्धनको प्रतिस्पर्धी एमालेले मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाएको छ ।

काँग्रेस मोरङका सचिव ललित श्रेष्ठले पार्टीका तर्फबाट कतै पनि आचारसंहिताको उल्लंघन नभएको बताए । ‘आचारसंहिता पालनाका विषयमा काँग्रेस गम्भीर छ । कोही कसैले पनि नियमको उल्लंघन गर्न मिल्दैन,’ उनले भने, ‘कतै त्यस्तो भएको रहेछ भने हामी सचेत गराउछौँ । इच्छाविपरीत राखिएका झण्डा तत्काल हटाउछौँ ।’ श्रेष्ठले अहिलेसम्म कतैबाट पनि आचारसंहिता उल्लंघनको जानकारी पार्टीमा नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर