खबर पूर्वाञ्चल
नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीमा लाग्दा ढिलोछिटो न्याय हुन्छ भन्ने नागेशको सन्दर्भले पुष्टि हुने उल्लेख गरे । “अघिल्लो पटक पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन,” देउवाले भने, “तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।”
देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए । देउवाले भने, “दुवैजना युवा हुनुहुन्छ, दुवैजना पढेलेखे र विराटनगरका लागि केही गरौं भन्ने सोच छ उहाँहरूमा । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईंहरूको माझ आएको हुँ ।
सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यस्तै नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए । “स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ,” कोइरालाले भने, “त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।”
त्यस्तै सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए । “एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईं रोज्न सक्नुहुन्छ” उनले भने, “एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।”
एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए । त्यस्तै नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।