पूर्वाञ्चल खबर

विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनहरुले ३ सातादेखि नोबेलको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपनि कामकाज निर्वाध रूपमा संचालन भएको देखेपछि सिटी जुलुस लगाउदै काम रोक्नु आग्रह गर्दा तोडफोड भएको छ ।
विद्यार्थीहरुले नर्सिङ पढाई हुने कक्षा र अफिसमा तोडफोड गरेका छन् । अफिस भित्र रहेको कम्प्युटर, टेलव, शौचालयको झ्याल ढोका र नोवेल अस्पताल भित्र रहेको फार्मेसीको २ वटा सिसा फुटाईदिएका छन् ।
आन्दोलनमा उत्रिएका विद्यार्थी माथि नोबेलका सुरक्षा गार्डले आक्रमण गर्दा चार जना विद्यार्थी नेता घाइते भएका छन् । घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्तिकारी) मोरङका जिल्ला सहसचिव उमेश सेन्चुरी रहेका छन् ।
विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनले दुई हप्ता अगाडिदेखि नोबलेको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । तलाबन्दी गरेपनि कामकाज निर्वाध रूपमा संचालन हुने गरेको पाएपछि काम रोक्नुपर्ने भन्दै विद्यार्थी नेता नोबेल प्रशासनभित्र प्रवेश गर्दा सुरक्षा गार्डले आक्रमण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अन्सारीले बताए । घाइते विद्यार्थीको हात र आँखामा चोटपटक लागेको छ । सुरक्षामा खटिएका तीन जना प्रहरी पनि घाइते रहेको मोरङ प्रहरीले जनाएको छ ।
विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएको हो ।
प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनहरूसँग छलफल गरेर जिल्ला प्रहरी कार्यालयलाई अतिरिक्त शुल्क असुलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो ।
कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठनपाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरूले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनसन बस्दै आएका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बाहेकको काठमाण्डौ विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूले बताए । उक्त शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाएको हो ।
आन्दोलनरत विद्यार्थी संगठनहरूले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आए पनि कलेजले विद्यार्थीका अभिभावकलाई डर, त्रास देखाएर उक्त शुल्क असुलेर विद्यार्थी भर्ना गराइरहेको गुनासो आउने गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।