मुख्यमन्त्री कप फुटबलमा आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर, समितिको वार्षिक प्रतिवेदन सदनमा पेश

खबर पूर्वाञ्चल, २५ असार २०७८, शुक्रबार ०८:४३

विराटनगर / प्रदेश १ को सार्वजनिक लेखा समितिले दुईवर्ष लगाएर विवादास्पद बनेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितासहित वार्षिक प्रतिवेदन सदनमा पेश गरेको छ ।

लेखा समितिका सभापति शिवनारायण गन्गाईले बिहीबार प्रदेश सभामा विवादास्पद बनेको प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन सदनमा पेश गरेका हुन् । २०७६ साल असारमा सम्पन्न प्रतियोगिता विवादास्पद बनेपछि समितिले २०७६ साल साउन ९ गते छानविनका लागि निर्देशन दिएको थियो । समितिले करिब डेढवर्षपछि छानवीन कार्य सम्पन्न गर्दै २०७७ माघ २७ गते प्रतियोगितामा आर्थिक अनियमितता नभएको भन्दै सम्बन्धित पक्षलाई क्लिन चिट दिएको थियो ।

छानवीनका क्रममा प्रतियोगितामा भएका आर्थिक पक्षका कागजात मगाएर समितिले अध्ययन गरेको थियो। आर्थिक पक्षमा अनिमितता नभएको प्रस्टाउदै समितिले प्राविधीक पक्षमा थप छानविन कार्यका लागि सामाजिक विकास समितिलाई जिम्मा लगाएको छ । यसअघि, समितिले प्रतियोगितामा भएको आर्थिक पक्षका सन्र्दभमा २०७६ चैत्र ७ गतेको बैठकबाट आर्थिक पक्षमा छानवीन गर्नु नपर्ने निर्णय गरेको थियो। यद्धपी, प्रतियोगितामा केही पदाधिकारीले राजश्व तिर्न बाँकी रहेको करिब १७ हजार रुपैया दाखिला गर्न निर्देशन दिएको थियो । समितिले गतवर्ष माघ २७ गते आयोजक पक्षलाई क्लिन चिट दिनुपूर्व नै सो राजश्व रकम दाखिला गरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रतियोगिता २०७६ असार १६ गतेबाट असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवद्ध जिल्लाका लागि तयारी रकम ३३ लाख रुपैया उपलब्ध गराएको थियो । असारमा बजेट सक्नको लागि प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिनमा चासो दिएको थियो । प्रतियोगिता अन्तर्गतमा विभिन्न खेल धरान, उदयपुर र इलाममा भएका थिए ।

लेखा समितिले पेश गरेको वार्षिक प्रतिवेदमा पूर्वपश्चिम राजमार्गको गछिया खोलाको पक्की पुल र विराटचौकस्थित खोसार्ने सडकखण्डको निर्माण कमसल ढंगबाट भएको उजुरीपछि स्लगत निरीक्षण गरेको जनाएको छ। प्रदेश लेखा नियन्त्रकहरुलाई छलफलमा राख्दै बेरुजू फस्र्योट गर्न निर्देशन दिइएको र कृषि अनुदानको विषयमा आएको विवादको विषयमा सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध उद्योगको स्थलगत अनुगमन गरिएको प्रतिवेदनले जनाएको छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायबाट भएका रकमान्तरको विषयमा समेत मन्त्रालयका सचिवहरुसंग छलफल गरी रकमान्तर गर्ने पुष्ट्याईं माग गरिएको गन्गाईले सदन समक्ष प्रतिवेदन पेश गर्दै जानकारी गराए । समितिले चालू आर्थिक वर्षमा ३० वटा बैठक गरेको सभापति गन्गाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५