animated ellipse animated ellipse

आज विहान तीन घण्टाको अवधिमा विराटनगरमा छ जना कोरोना सङ्क्रमित मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ बैशाख २०७८, सोमबार ११:१८
3.34k
Shares
विराटनगर / तीन घण्टाको भित्रमा विराटनगरमा छ जना कोरोना भाइरस सङ्क्रमित मृत्यु भएको छ ।

आज विराटनगरको विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये तीन महिला र तीन पुरुष गरि छ जना संक्रमितको मृत्यु भएको हो । बूढीगङ्गा गाउँपालिकाको विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । मृतकमध्ये पाँच जना प्रदेश १ र एक जना प्रदेश २ का बासिन्दा हुन् ।

न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धा महिलाको विहान ५ः५० बजेतिर मृत्यु भएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या पनि थियो ।

त्यस्तै विराटमा विराटनगर–११ का ४६ वर्षीया सङ्क्रमित पुरुषको विहान ७ः५५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो । उपचारकै क्रममा आइसोलेसनमा उनको मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

विराटनगर–१३ की ७८ वर्षीया वृद्धा महिलाको पनि विराटमै मृत्यु भएको छ । कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको विहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी देवले दिए ।

सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीया पुरुषको पनि विराटमै उपचारका क्रममा मृत्यु भएको छ । कोभिड अस्पताल इन्चार्ज देवका अनुसार विहान ५ः३० बजेतिर उनको मृत्यु भएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिलाको विहान ५ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएकी महिलालाई वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै सिरहाको भवानीपुर– ४ का ५० वर्षीया पुरुषको पनि मृत्यु भएको छ । उपचारका क्रममा विहान ५ः१५ बजेतिर नोबेलमै उनको मृत्यु भएको प्रबन्धक दाहालले बताए । उनका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर