पूर्वाञ्चल खबर
चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आजदेखि विराटनगरमा तालिम शुरु गरिएकोे छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । तालिम उद्घाटन गर्दै उनँले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रुपमा सञ्चालन गर्ने बताए । अपाङगता न्युनीकरणका लागि कार्यक्रम प्रभावकारी बन्ने मन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले अपाङ्गता न्युनीकरणका लागि करुणा फाउण्डेसनसँगको सहकार्यमा काम गरिरहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरु भएको बताए ।
प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनवीचको सहकार्यमा तीन बर्षे कार्यक्रम शुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत बर्ष कार्यक्रम शुरु गरिएको थियो । चालु आर्थिक बर्षमा मोरङ, सुनसरी, संखुवासभा र भोजपुरका गरि थप ३१ स्थानीय तहका कार्यक्रम शुरु गरिएको करुणा फाण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए । उनका अनुसार इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा छ ।
करुणा फाण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ बर्ष कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले बताए । अपाङ्गता न्युनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ३ बर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने उनले बताए ।