पूर्वाञ्चल खबर
बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
यही दिन राखिएको जमरा विजया दशमीमा मान्यजनले टीकासँगै लगाएर आर्शिवाद दिने चलन छ । प्रत्येक वर्ष दशैँ हर्षोल्लाससाथ सुरु गर्ने गरिएको भए पनि यस वर्ष कोरोना महामारीका कारण त्यो सम्भव भएन । सरकारले घरमै बसेर दशैँ मनाउन र बाहिरफेरो नजान सबैमा आनुरोध गरेको छ ।
घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा. सुनील सिटौलाले जानकारी दिए । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यो वर्ष कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने ज्योतिषी सिटौलाले बताए । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका बिभिन्न भागमा छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
नवरात्रमा नवदुर्गाको पूजा

दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद्को भनाइ छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।
नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ । तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ ।