RUMPUM
animated ellipse animated ellipse

एमाले कोशी प्रदेशमा निर्वाचन हुने निश्चित, अध्यक्षमा ढकाल र खतिवडा भिड्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०८०, शनिबार १८:४०
297
Shares
विराटनगर /नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले आज उम्मेदवारी दर्ता गराएपछि प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि दुई नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो ।

ढकालको प्रस्तावक मुकेश बुढाथोकी र समर्थक महेश भट्टराई बसेका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद ढंगाल र छत्रपति प्याकुरेल रहेका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने कतिपय केन्द्रीय नेताको प्रस्ताव मान्न ढकाल तयार भएनन् ।

खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरुले ढकाललाई पार्टीको पोलिट्ब्यूरो सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताएर उक्त प्रस्ताव अस्वीकार गरे ।

सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् । भीम आचार्यबाहेक प्रदेशका अन्य स्थायी कमिटी सदस्य खतिवडाको पक्षमा देखिएका छन् ।

मदन भण्डारी फाउण्डेसन मार्फत एमालेमा केपी शर्मा ओलीको गुट स्थापित गर्दा ढकाल प्रमुख खम्बा थिए । तर पछिल्लो समय अध्यक्ष ओलीसँग ढकालको सम्बन्ध चिसिएको छ । ढकाललाई साथ दिइरहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएका कारण पनि कतिपय नेताले ढकालको साथ छाडेका छन् ।

खतिवडा र ढकाल एमालेको पाँचौं जिल्ला अधिवेशनमा मोरङ जिल्ला अध्यक्षमा भिडेका थिए । त्यतिबेला ओली समूहका ढकालले माधव नेपाल समूहका खतिवडालाई पराजित गरेका थिए ।

शुक्रबार अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले केही नभन्ने तर नेताको इशारा बुझ्न आग्रह गरेका थिए ।

‘चुनाव लडेपछि हार्न, जित्न सम्भव हुन्छ यो पार्टीभित्रको कुरा हो’, उनले भनेका थिए, ‘भरसक त्यो नौवत नआओस्, अलिकति पार्टीका नेताहरुको, नेतृत्वहरुको के मूल्यांकन छ अलिकति इसारा पनि बुझ्नुहोस् र काम गर्नुहोस्, यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस्, मैले अध्यक्षको हिसाबले केही भनिरहनु आवश्यक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर