AArya
RUMPUM
animated ellipse animated ellipse

आमाको काजकिरियामा बसेका परिवारमाथि विराटनगरमा मध्यरातमा आक्रमण, दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०८२, बुधबार १८:२२
288
Shares
विराटनगर /शोकमग्न घर, जहाँ ७ दिनअघि मात्रै मातृवियोगको पीडा परेको थियो ।

एकातिर हिन्दु संस्कारअनुसार किरिया बसेका छोरा, अर्कोतिर शोकाकुल परिवारजन । यस्तो संवेदनशील र दुःखद घडीमा बाहिरी संसारबाट सान्त्वना र सहानुभूतिको अपेक्षा हुन्छ । तर, विराटनगर–११ पिचराको दुर्गा मन्दिर अगाडि बस्ने कामत परिवारले सोमबार मध्यरातमा सान्त्वनाको सट्टा पायो बर्बर र अमानवीय आक्रमण । मदिराको नशामा चुर भएका केही व्यक्तिले आमाको किरियामा बसेका किरण कामतसहित उनको पूरा परिवारमाथि नै हमला गरे, जसले मानवता र संस्कार दुवैमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

सोमबार मध्यरातको करिब साढे १२ बजेको थियो । ४९ वर्षीय किरण कामत आफ्नी आमा सारादादेवी कामतको निधनपछिको हिन्दु संस्कारअनुसार किरियामा थिए । घरमा उनका बुवा हरिनारायण कामत, बहिनी काली कामत र भाइ सन्तोष कामत पनि थिए । सारा परिवार आमा गुमाएको पीडामा डुबेको थियो । यही बेला स्थानीय प्रमोद सहनी र सुनिल सहनी, जो जग्गा कारोबारमा संलग्न रहेको बताइन्छ, मदिराले लठ्ठिएको अवस्थामा कामतको घरमा प्रवेश गरे ।

सुरुमा उनीहरू त्यहाँ आएर अर्कै व्यक्ति मनोज साहलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्न थाले । शोकमग्न घरमा यस्तो व्यवहार अशोभनीय लागेपछि किरियामा बसेका किरणले विनम्रतापूर्वक भने, ‘यहाँ आएर यसरी गालीगलौज नगर्नुहोस्, हाम्रो घरमा जुठो परेको छ ।’

किरणको यही मानवीय आग्रह नै उनीहरूका लागि आक्रमणको बहाना बन्यो । पीडित किरणका अनुसार, उनको कुरा सुन्नासाथ प्रमोद र सुनिल उनीमाथि जाइलागे । ‘मैले त्यति भन्नासाथ उनीहरूले ‘तँ सिकाउने ?’ भन्दै हातमा रहेको बाँसको भाटाले ममाथि अन्धाधुन्ध प्रहार गर्न थाले,’ किरणले आफ्नो देब्रे खुट्टाको गहिरो चोट देखाउँदै भने । किरियामा बसेका व्यक्तिमाथि भाटा प्रहार हुन थालेपछि घरमा कोलाहल मच्चियो ।

दाजुलाई निर्घात कुटपिट गरिरहेको देखेपछि ४० वर्षीया बहिनी काली कामत सहन सकिनन् र छुट्याउन अघि बढिन् । तर, ती आक्रमणकारीले उनीमाथि पनि कुनै दया देखाएनन् । कालीलाई पनि बाँसको भाटाले हिर्काइयो र त्यसपछि सुनिलले उनको देब्रे हातमा टोकिदिए । ‘दाजुलाई बचाउन जाँदा मलाई पनि भाटाले हाने र हातमा पशुले जस्तै टोकिदिए,’ कालीले गालामा लागेको मुक्काको चोट देखाउँदै भनिन्, ‘उनीहरूको व्यवहार कुनै मानिसको जस्तो थिएन ।’

आफ्ना दाजु र दिदीमाथि आक्रमण भएपछि कान्छो भाइ सन्तोष कामत र ७१ वर्षीय वृद्ध बुवा हरिनारायण कामत पनि प्रतिकारमा उत्रिए । तर, नशा र शक्तिको उन्मादमा रहेका आक्रमणकारीले उनीहरूलाई पनि छोडेनन् । छुट्याउन गएका सन्तोषको मुख र निधारमा चोट लागेको छ भने वृद्ध बुवा हरिनारायणको हातमा पनि चोट पुगेको छ । एकैछिनमा शोकमग्न घर रणभूमि जस्तै बन्यो, जहाँ पीडित परिवार सदस्यहरूको चित्कारबाहेक केही सुनिँदैनथ्यो ।

आक्रमणको जडः वर्षौंदेखिको जग्गा विवाद
यो बर्बर आक्रमण कुनै आकस्मिक घटना थिएन, यसको पछाडि वर्षौंदेखि चलिरहेको एक जटिल जग्गा विवाद लुकेको छ ।

घटनाको केन्द्रमा विराटनगर–११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गा छ, जुन डेला देवी दाहालको नाममा दर्ता छ । तर, यो जग्गामा विगत ३५ वर्षदेखि हरिनारायण कामतको परिवारले भोगचलन गर्दै आएको छ ।
यो विवाद अदालतसम्म पनि पुगेको थियो । जिल्ला अदालत हुँदै उच्च अदालतले समेत वि.सं. २०५३ सालमा हरिनारायण कामतको पक्षमा फैसला गर्दै उक्त जग्गामा उनको बसोबासको हक कायम गरिदिएको थियो । पीडित परिवारका सदस्य सन्तोष कामत भन्छन्, ‘अदालतले समेत हामीले भोगचलन गर्दै आएको जग्गामा हाम्रो हक स्थापित गरिदिएको छ । मुद्दा अहिले पनि विचाराधीन अवस्थामै छ ।’

तर, कानुनी लडाइँमा कमजोर भएपछि प्रतिपक्षीले बल प्रयोगको बाटो रोजेको देखिन्छ । जग्गाधनी डेला देवी दाहालले उक्त जग्गाको सबै कारोबार र मुद्दा मामिला हेर्नका लागि आक्रमणकारीमध्येका एक, ३५ वर्षीय सुनिल सहनीलाई वारेसनामा दिएकी छन् । यही वारेसनामाको आडमा सुनिल र उनका साथी प्रमोदले कामत परिवारलाई उक्त जग्गाबाट हटाउन अनेकौं पटक धम्की र दबाब दिँदै आएको परिवारको आरोप छ ।

‘उनीहरू हामीलाई यहाँबाट जसरी पनि हटाउन चाहन्छन् । अदालतको फैसला पनि मान्दैनन् । त्यही जग्गाको निहुँमा बेलाबेला आएर थर्काउने, धम्काउने गर्थे,’ सन्तोषले भने, ‘अहिले आमा बित्नुभएको र हामी सबैभन्दा कमजोर भएको मौका पारेर उनीहरूले यो आक्रमण गरे ।’

मध्यरातमा भएको यो घटनापछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो । खबर पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) को टोली घटनास्थल पुगेको थियो । तर, प्रहरी पुग्नुअघि नै आक्रमणकारी प्रमोद सहनी र सुनिल सहनी फरार भइसकेका थिए । त्यसलगत्तै वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी सहायक निरीक्षक (असाई) सहितको टोलीले राति १ बजेतिर सुनिलको घरमा छापा मारे पनि उनी फेला परेनन् ।

मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिएको छ । उजुरी दर्ता भएलगत्तै मोरङ प्रहरीले सक्रियता देखाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालले घटनाको पुष्टि गर्दै भनिन्, ‘पीडित परिवारबाट उजुरी परेपछि हामीले आरोपितहरूलाई नियन्त्रणमा लिएका छौं । घटना अत्यन्तै संवेदनशील प्रकृतिको देखिन्छ । हामीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेका छौं ।’ कामत परिवार अहिले शारीरिक चोट र मानसिक आघातसँगै न्यायको प्रतीक्षामा छ । उनीहरूको एउटै माग छ – संस्कार र मानवता दुवैलाई कुल्चेर गरिएको यो अपराधका दोषीले कडाभन्दा कडा सजाय हुनुपर्ने पीडित सन्तोषले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर