खबर पूर्वाञ्चल
सामान्य अवस्थामा पनि महिलाले घरभित्र र बाहिर बिभिन्न किसिमका हिंसा भोग्नु परिरहेको अवस्थामा यो बन्दाबन्दीले थप मानसिक तथा सामाजिक हिंसा बढाएको सरोकारवाला निकायका प्रतिनिधिले बताएका छन् ।
लकडाउनको समयमा विशेषगरी पछाडि पारिएका समुदायका महिला तथा अपाङ्गता भएका महिला धेरै पीडित भएको राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले बताए । अध्यक्ष गुरुङले विषयवस्तुका बारेमा जानकारी र सूचना नपाएकै कारण पछाडि पारिएका समुदायका महिला झन् पछाडी परेको अध्ययनले देखाएको बताए । कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सुरक्षा सर्तकता र चिकित्सकले भनिरहेका बिभिन्न शब्दको बारेमा पनि महिलामा जानकारी नभएको पाइएको उनले उल्लेख गरे ।
महिला अधिकारकर्मी सरु जोशीले बन्दाबन्दीको समयमा अरु बेलामा भन्दा महिलामा थप कामको बोझ बढेको बताइन् । अधिकारकर्मी जोशीले महिलामाथि भइरहेको शारीरिक, मानसिक हिंसा घटाउन घरका पुरुष सदस्यको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् । महिलालाई घरभित्रको काम गर्नमा परिरहेको बोझ हटाउनको लागि अब नीतिगत रुपमा नै व्यवस्था गर्नुपर्ने बहस पनि भइरहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले लैङ्गिक समानताको पक्षमा बनेका कानुन कार्यान्वयन भए मात्रै पनि महिलामाथि हुने हिंसा कम हुने बताए । सानो मानिएका घरभित्रका काममा सघाएर, महिलालाई यो समयमा परिरहेको मानसिक तथा शारीरिक समस्याका बारेमा बुझिदिएर पनि महिला हिंसा घटाउन सकिने सरोकारवालाले बताएका छन् ।