पहिचानका आधारमा प्रदेशको नाम लिम्बुवान किराँत प्रदेश राख्नु माग राख्दै विराटनगरमा बिहीबार संघीय लोकतान्त्रिक राष्ट मञ्चले प्रदर्शन गरेका हुन् ।
उनीहरूले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रदेश सभा अगाडी लिम्बुवान किराँत प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै प्रर्दशन गरे ।
पहिचानको आधारमा अरुण कोशी पूर्वका ९ जिल्ला लिम्बुवान हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएको मञ्चले प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान किराँत प्रदेश हुनुपर्ने उनीहरूले जोड दिएका छन् । मञ्चका अध्यक्ष कुमार लिङदेनले इतिहासको आधारमा लिम्बुवान र किराँत नै पहिचानको प्रदेश १ को नाम उपयुक्त हुने बताए । विभिन्न जातीय र सामाजिक संस्थासहितको ब्यानरमा उनीहरूले चर्को घाममा मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिए ।
अध्यक्ष लिङदेनले कसैले बहुमत र शक्तिको आडमा लिम्बुवानको इतिहास मेटाउने चाहे उनको दिवा सपना मात्र हुने बताए ।
प्रदेशका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र, एकीकृति समाजवादी पार्टी पहिचानको आधारमा प्रदेशको नामकरण राख्नुपर्ने बताउँदै आएका छन् ।
प्रदेश १ को दसौैंं तथा अन्तिम अधिवेशनमा दलहरुले प्रदेशको नाम टुङ्गो लगाउनका लागि छलफल गरिरहेका छन् । नामका विषयमा छलफलका लागि साउन ८ गते प्रदेशसभाकोे बैठक बस्दैछ ।
तपाईको प्रतिक्रिया