सरकारले माग पुरा नगरी निर्वाचन गरे बहिष्कार गर्ने– ठाकुर
पूर्वाञ्चल खबर
७ माघ २०७३, शुक्रबार १६:३६
3
Shares
फाइल तस्वीर
७ माघ, विराटनगर /तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज शुक्रबार स्थानिय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफुहरुको माग अनुरुप संशोधन प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पारे ।
अध्यक्ष ठाकुरले सीमाङ्कनसम्बन्धी विवादको टुंगो नलागेको र निर्वाचनका लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने दाबी गरे । उनले सरकारले आफुहरुको माग पुरा नगरी निर्वाचन गर्न खोजे निर्वाचनको बहिष्कार गर्नुका साथै निर्वाचनमा अवरोधसमेत गर्ने चेतावनी दिए ।
अध्यक्ष ठाकुरले जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिका गठन हुनुपर्नेमा त्यसअनुरुप नभएकाले मधेशी मोर्चालाई आयोगले पेश गरेको प्रतिवेदन मान्य नहुने समेत बताए ।
अध्यक्ष ठाकुरले सीमाङ्कनको हेरफेरका साथै मधेशी मोर्चाको माग पुरा नभएसम्म संसदीय निर्वाचनको पनि विरोध गर्ने बताए ।