पूर्वाञ्चल खबर
काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले निवर्तमान सभामुख महरालाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएका हुन् । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारी रोशनीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् ।
महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए । त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे । सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो ।