पूर्वाञ्चल खबर
विराटनगर /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ ।
प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोट्र्स मिटको तयारीबारे जानकारी गराएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १९ गते शुक्रबारदेखि २१ गतेसम्म हुने तय भए पनि केही खेलहरू भने सुरु भइसकेका छन् । खेल तालिकाको चापलाई व्यवस्थापन गर्न फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू उद्घाटन अगावै सुरु गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । जसअनुसार विराटनगरको सहिद रंगशालामा फुटबल र विराटनगर जुटमिलको खेल मैदानमा क्रिकेट प्रतियोगिताहरू धमाधम सञ्चालन भइरहेका छन् ।
शिक्षा क्षेत्रको उन्नयनसँगै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्राथमिकतामा राखेर २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशकै प्रतिष्ठित खेलकुद महोत्सव मानिन्छ । यस वर्षको संस्करणमा मोरङ जिल्लाभरका २३५ सदस्य विद्यालयहरूबाट ३ हजारभन्दा बढी विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्स गरी विभिन्न विधाहरू समावेश गरिएको छ ।
खेलहरू विराटनगरस्थित शहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको खेल मैदानमा सञ्चालन हुनेछन् । प्याब्सन मोरङले जिल्ला फुटबल संघ, क्रिकेट संघ, भलिबल संघ लगायतका विषयगत खेल संघहरूको प्राविधिक सहयोगमा खेल सञ्चालन गरिरहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने खेल संयोजक विष्णु डंगोलले जानकारी दिए ।
तीन दिनसम्म चल्ने यो खेलकुद मेलाको अवलोकन गर्न करिब १ लाखभन्दा बढी खेलप्रेमी दर्शकहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
मङ्सिर १९ मा भव्य उद्घाटन
स्पोट्र्स मिटको औपचारिक उद्घाटन मङ्सिर १९ गते शुक्रबार विराटनगरको शहिद रंगशालामा हुनेछ । उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मोरङका सचिव देवि सिटौलाले यस कार्यक्रमबाट उदाएका थुप्रै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मोरङ र देशकै नाम राख्न सफल भएको स्मरण गर्दै यस वर्ष पनि नयाँ प्रतिभाहरूको उदय हुने विश्वास व्यक्त गरे । प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।