पूर्वाञ्चल खबर
विराटनगर / दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
आज विराटनगरको विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । एमसीसीको विषयमा अनुचित शर्तहरु रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जानकारी दिए ।
इन्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो की भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै एमसीसी नेपालको लागि हित भएकोले यसलाई सरकारले स्वीकृत गर्नु पर्ने बताए । हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै नेता नेपालले संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रहरुलाई दिनु अधिकार भित्र रहेको बताए ।
वैदेशिक क्रृण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियान योजनाबद्धले खर्च गर्नु पर्ने भन्दै नेता नेपालले सरकारले कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नु पर्ने सुझाव दिए ।
वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनु पर्ने तर्क गर्दै नेपालको वातावरण प्रदुषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्ने कुरामा जोड दिए ।