पूर्वाञ्चल खबर
पोखरा / दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
आज भएको फाइनलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै पहिलो संस्करणमा उपविजेतामा सीमित बनेको चितवनले यसपटक आफ्ना सबै खेलमा जित निकाल्दै उपाधि जितेको हो । पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको विशाल योगफल तयार पारेको थियो । चितवनका रोहन मुस्तफा र अनिल साहले ५०–५० रन बनाउँदा कप्तान पारस खड्का २५ रन, आरिफ सेख १९ रन तथा बाबर हायत ५ रनमा आउट हुँदा करण केसी २६ रन तथा सन्नी पटेल १६ रनमा अविजित रहे । विराटनगरका मुहम्मद अलाम र पुनित मेहराले २–२ विकेट तथा किशोर महतोले १ विकेट लिए ।
जवाफमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १ सय ७० रन बनाउन सक्यो । विराटनगरका मोहम्मद अलामले सर्वाधिक ५७ रन बनाउँदा कप्तान प्रदिप ऐरी ३६ रन , पुनित मेहरा ३२ रन तथा नोमन खान १८ रनमा आउट भए । चितवनका करण केसीले ३ विकेट तथा सन्नी पटेल २ विकेट र रोहन मुस्तफाले १ विकेट लिए ।
लिगमा आफ्ना सबै खेल जित्दै कप्तान पारस खड्काको टिम चितवनले उपाधि कब्जा गरेको हो । मंसिर २९ गते शुरु भएको टि–ट्वेन्टी फ्रेन्चाइज प्रतियोगितामा चितवन र विराटनगरसहित, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी गरी ६ टोली सहभागी थिए । उपाधि जितेसँगै चितवनले २७ लाख नगद प्राप्त गरेको छ भने उपविजेतामा सीमित विराटनगरले १० लाख पुरस्कार प्राप्त र्गयो ।