RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा चार स्थानमा आकाशे पुल बन्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार ०९:०६
3
Shares

विराटनगर / विराटनगरका प्रमुख तीन चोकमा आकाशे पुल बन्ने भएको छ । महानगरपालिकाले आकाशे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन स्वीकृतीका लागि सडक विभागमा पठाइसकेको छ ।

केही दिनभित्रै महानगरपालिकाले आकाशे पुल निर्माणका लागि बोलपत्र आव्हान गर्ने तयारी गरेको छ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक (घाँस चोक) मा आकाशे पुल निर्माण हुने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

रानी –इटहरी– धरान ६ लेन सडक अन्तर्गत पर्ने चोकहरुमा अधिक भिडभाड हुने गरेको छ । सर्वसाधारणलाई सडक वारपार गर्न कठिनाई भएको र आकाशे पुल नहुँदा जथाभावी बाटो काट्नुपर्ने अवस्था अन्त्य गर्न आकासे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षको बजेटमा आकाशे पुल निर्माणका लागि महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विराटनगरमा निर्माण गर्न लागिएको आकाशे पुल पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित रहने महानगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । कुनै कारणले पुल अन्यत्र सार्नुपरेमा वा मोनोरेल सञ्चालनका क्रममा हटाउनुपर्ने अवस्था उत्पन्न भएमा पुनःप्रयोगमा ल्याउन सकिने भएकोले महानगरपालिकाले स्टिल स्ट्रकचरमा जोड दिएको हो । ईट्टा र सिमेन्टको प्रयोग गरेर आकाशेपुल बनाउँदा खर्च पनि धेरै हुने र हटाउनु परेमा पुनःप्रयोग गर्न नसकिने भएकोले स्टिल स्ट्रक्चर रोजिएको महानगरपालिकाले जनाएको छ ।

तयार गरिएको डिपिआर अनुसार एउटा स्टिल स्ट्रक्चरको आकाशे पुल ९३ लाख ९० हजार रुपैयाँमा तयार हुनेछ । आकाशे पुल चालु आर्थिक वर्षभित्रैमा सम्पन्न गर्ने महानगरपालिकाले जनाएको छ । तीस मिटर चौडा सडकमा दुबैतर्फ गरी ५ मिटर फुटपाथ छोडेर २५ मिटर लम्बाइका आकाशे पुल निर्माण हुनेछन् । त्यसको उचाई ६ मिटर रहने इन्जिनियर थापाले जानकारी दिए ।

आर.आर. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि.को तर्फबाट स्ट्रक्चर इन्जिनियर डा.राजन सुवालले आकासे पुलको डिजाइन गरेका हुन् । सोही कम्पनीले डिपिआरसमेत तयार गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले केही दिनभित्रै आकाशे पुल निर्माणका लागि बोलपत्र आव्हान गर्ने जानकारी समेत दिए । सडक विभागसँग आकाशे पुल निर्माणका लागि स्वीकृती माग गर्दै पत्राचार गरिसकेको र स्वीकृती आउन केही समय लागेपनि बोलपत्र आव्हानको प्रक्रिया महानगरले अघि बढाउने अधिकारीले बताए ।

विराटनगरको बसपार्क क्षेत्रमा अर्को आकाशे पुल बनाउन महानगरपालिकाले निजी क्षेत्रसँग प्रस्ताव गरेको छ । महानगरपालिकासँग बजेटको सिमितता रहेको भन्दै उसले सर्वसाधारण आवतजावतमा सबैभन्दा धेरै चाप हुने विराटनगर बसपार्कमा स्टिल स्ट्रक्टरमै आधारित आकाशे पुल बनाउन अनुरोध गरेको अधिकारीले जानकारी दिए । ‘हामीले यो वर्ष तीन वटा आकाशे पुल बनाउने प्रक्रिया अघि बढाएका थियौं तर बसपार्कमा पनि यसै वर्ष बनाउनैपर्ने अवस्था छ,’ उनले भने ‘हामी निजी क्षेत्रको सहयोगमा बसपार्कमा अर्को आकाशे पुल पनि बनाउनेगरी छलफल गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर