पूर्वाञ्चल खबर
विराटनगर / पछिल्लो समयमा अबैध रुपमा गाँजा खेती गरेको पाईएकोले प्रहरीले “सर्च एण्ड डिस्ट्रोय” अभियान संचालन गरे पछि ग १५ लाख बढी बोट नष्ट गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले कार्ययोजना बनाई सम्बन्धित जिल्लाहरुलाई विशेष अभियान नै सञ्चालन गरेर गाजा फडानी गर्ने निर्देशन दिएसंगै सम्बन्धित जिल्लामा लगाईएका अबैध गाँजा खेती तथा आफै उम्रिएका गाँजाका बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरि गाँजा फडानी गरी नष्ट गर्दै आएको छ ।
कार्तिक ३ गतेदेखि हालसम्ममा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १५ लाख १ हजार ३३० गाँजाका बोट फडानी गरी नष्ट गरिसकिएको छ ।
गाँजा फडानीको लागी उक्त जिल्लाहरुबाट दैनिक १९७ जना प्रहरी जनशक्ति खटाईएको छ । दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट, ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७ जना र सुनसरीबाट १० जना प्रहरी जनशक्ति गाँजा फडानीको लागि खटाईएको छ ।
गाँजा फडानी गर्न खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी, चौबिसे र धनकुटाकै आँखिसल्ला गाऊँपालिका लगायतका एरियाको बिभिन्न स्थानमा करिब ९९४ रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १२ लाख ३० हजार ५१८ गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको छ । यस्तै भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानको अन्दाजी ३०९ रोपनी जग्गामा लगाईएको १ लाख ३० हजार ३ सय ३६ बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।
यसैगरी उदयपुरको ताप्ली गाँउपालिकाको बिभिन्न स्थानमा करिव २८५ रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ३३ हजार ४७६ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो । यस्तै खोटाङको हलेशी तुवाचुङ नगरपालिकाका बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका ७ हजार गाँजाका बोटहरु नष्ट गरिएको छ भने ईलामको देउमाई नगरपालिकाका बिभिन्न स्थानहरुमा लगाईएको २४० बोट गाजा फडानी गरी नष्ट गरिएको हो । यसैगरी सुनसरीको देवानगञ्ज गाऊँपालिका(६ मा लगाईएका करिव ३ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । उत्पदानको अन्तिम अबस्थामा रहेको गाँजाका बोटहरु फडानी गरी नष्ट गर्ने कार्य निरन्तर भईरहेको छ ।