विराटनगर / विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ ।
आज परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो । १५ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् ।२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् । घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर यही कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने परिषद् अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया