AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारी सुविधा समाजमै खर्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७६, शुक्रबार ०७:०१
3
Shares

विराटनगर / गैरकानूनी रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक दिइरहेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित मोरङको चार स्थानीय तहका प्रमुखले प्राप्त सेवा सुविधा भने सामाजिक क्षेत्रमा खर्च गरिरहेको समाचार आजको जनविद्रोह देनिकले मुख्य समाचार बनाएर छापेको छ ।

प्रदेश सरकारले बनाएको कानून अनुसार प्राप्त गर्ने सेवा सुविधा सामाजिक काममा खर्च गरिरहेको चार स्थानीय तहका प्रमुखहरुले बताएका छन् । विराटनगर महानगरपालिमा प्रदेश कानूनमा तोकिएभन्दा बढि सुविधा लिएको भन्दै उच्च अदालत विराटनगरमा परेको रिट विचाराधिन छ । तर, यसरी लिएको सुविधा आपूmले व्यक्तिगत रुपमा प्रयोग नगरी सामाजिक काममा खर्च गरिरहेको महानगर प्रमुख भीम पराजुलीको भनाइ छ ।

पराजुलीसहित रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि आपूmले प्राप्त गर्ने सुविधा वापतको रकम सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताएका छन् ।

विराटनगर महानगर प्रमुख पराजुलीले सामुदायिक विद्यालय सुधारका लागि आफ्नो सेवा सुविधा बापतको रकम खर्च गरिरहेको बताए । पहिलो वर्षको आम्दानी विराटनगर १ स्थित सयपत्री आधारभूत विद्यालयमा कम्पाउण्ड वाल निर्माण, चौरमा माटो पुर्ने, चुहिने छानो फेर्ने र फलामे गेट लगाउने काममा खर्च गरेको पराजुलीको भनाइ छ ।

दोस्रो वर्षको रकम भने जागृति आधारभूत विद्यालयमा रंगरोगन गर्ने काममा खर्च गरेको मेयर पराजुलीले बताए । पराजुलीले दुई वर्षमा १२ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी भएको र १२ लाख ३७ हजार २ सय २२ रुपियाँ खर्च गरेको जानकारी दिए । उनले सुविधाबाट लक्ष्मीनारायण गुरुकुल संस्कृत विद्यालयलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, विराटगनरका आगलागीपीडित सिताराम लाल दाशलाई ५० हजार, डिउटीका क्रममा हत्या गरिएका सुरक्षा गार्ड टंक भट्टराईको परिवारलाई ५० हजार, वरिष्ठ नाटककार राम थापाको नाममा २५ हजार तथा नरसिंहनाथ मन्दिरका लागि २१ हजार रुपैयाँ सहयोग गरेको बताए ।

उता मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाकाका प्रमुख दिलिप बगडीयाले नगरपालिकाबाट प्राप्त भएको २८ महिनादेखिको सुविधा बापतको रकम छुट्टै बैंक खाता खोलेर राखेका छन् । सो रकमबाट नगरपालिकालाई वाईफाई–फ्रि बनाउने योजनामा काम भइरहेको उनले जानकारी दिए । नगरभरी फ्रि वाइफाई सेवाका लागि पूर्वाधारको काम भइरहेको जानकारी दिँदै बगडियाले त्यसका लागि हुने सबै खर्च आफ्नो सुविधाबाटै बेहोर्ने बताए ।

नगरपालिकाको ९ वडाका १ सय २९ स्थानमा वाइफाई फ्रि जोन बनाउने योजना छ । अहिले तार र राउटर राख्ने काम भइरहेको छ । कार्तिक मसान्तसम्म नगरपालिका पूर्णरुपमा वाइफाई फ्रि नगर बन्नेछ । पहिलो २८ महिनाको आम्दानीले वाइफाई फ्रि बनाएपछि त्यसपछिको आम्दानी इन्टरनेटको वार्षिक रकम भुक्तानीमा खर्च गर्ने उनको योजना छ । बगडियाले नियमित सुविधा मात्र नभएर बैठक भत्ता र सेमिनार आदिमा सहभागी जनाउँदा प्राप्त रकम पनि सोही खातामा जम्मा गर्दै आएका छन् । बगडिया यसबीच २ पटक विरामी भएपनि उपचार खर्च भने लिएका छैनन् ।

यसैगरी आफ्नो सेवा सुविधा जनताको उपचारमा खर्च गर्नेमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई पनि रहेका छन् । उनले विराटनगरको नोवल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार खर्च जुटाउन नसकेका असाहायहरुको रकम तिर्नमा आफ्नो आम्दानीबाट खर्च गरिरहेको बताए । अहिलेसम्म विराट नर्सिङ होममा ३ लाख रुपैयाँ तिरिसकेको उनको भनाइ छ ।

उपचारका लागि आइएमईबाटै ५० हजार रुपैयाँभन्दा बढी रकम पठाएको तथा विद्यालय, मन्दिर र अन्य सामाजिक विकासको काममा सुविधा वापतको रकम खर्च गर्ने गरेको प्रमुख राईले दावी गरे । प्रमुख राईको लागि गत आर्थिक वर्षमा सवारी साधन खरिद गर्न छुट्याइएको रकम उनले नगरका विपन्न नागरिकको घरमा टिनाको छाना लगाउन खर्च गरे ।

यसैगरी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट ८ लाख ५० हजार रुपैयाँ लगानी गरे । लागत साझेदारी जुटाउन नसक्ने उपभोक्ताहरुलाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गरेको फागोले बताए । ‘यहाँ त जे गर्दा पनि मुद्दा हालिहाल्छन् भन्न पनि गाह्रो छ,’ प्रमुख फागोले भने ‘अलिअलि त व्यक्तिगत काममा पनि चलाइयो होला तर धेरै रकम उपभोक्ताले लागत साझेदारी जुटाउन नसकेकाहरुलाई रकम दिएर विकासको काम अघि बढाउन सहयोग गर्दै आएको छु ।’ फागोले असहायहरुको शिक्षा र स्वास्थ्य उपचारमा पनि केही रकम खर्च गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर