खबर पूर्वाञ्चल
तामाङको आज ४३ वर्षको उमेरमा भारतको दिल्लीमा निधन भएको हो । उनको निधनको खबर संगीतकार राजेश घतानीले सार्वजनिक गरेका हुन् । संगीत क्षेत्रमा सशक्त पहिचान बनाएका तामाङ सन् २००७ मा इन्डियन आइडल–३ को उपाधि जितेपछि अन्तर्राष्ट्रियस्तरमै चर्चामा आएका थिए ।
साधारण पृष्ठभूमिबाट उदाएर असाधारण सफलता हासिल गरेका तामाङको गायन यात्राले नेपाली युवाहरूलाई ठूलो प्रेरणा दिएको थियो । उनको विजयले नेपाली समुदायलाई मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीलाई गर्वको अनुभूति गराएको थियो ।
गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्दै आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गरेका थिए । उनका गीतहरू र प्रस्तुतिहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव छाडेका छन् ।
तामाङले नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलो पटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे । त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।
उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।
उनले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलले भारतीय मात्रै नभएर नेपाली संगीत र कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ । उनको निधनप्रति संगीतकर्मी, कलाकार, प्रशंसक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।